नेपालगन्जः नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
वैशाख २६ देखि जेठ २० गतेसम्म मन्त्रालयले देशका विभिन्न ठाउँबाट ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो । ती मध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको डा पौडेलले बताउनुभयो ।
उहाँका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ । यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।