नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा पछिल्ला २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९१ नमुना परीक्षण गर्दा १० जना संक्रमित थपिएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा ३७ नमुना परीक्षण गर्दा ६ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २४ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्य बाँकेका १ जना पुरुष मात्र छन् । हालसम्म बाँकेमा ८२ हजार ८४२ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । आज जिल्लामा कोरोना भाइरस संक्रमण मुक्त भएर १० जना डिस्चार्ज भएका छन् ।
५ जना पुरुष र ५ जना महिला संक्रमणबाट निको भएका हुन् । संक्रमणकै कारण बाँकेमा गएको २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै उपचारका लागि जिल्ला बाहिरबाट आएका बिरामी रहेको समितिले जनाएको छ ।
एकबेला कोभिड संक्रमणले अस्तव्यस्त बनेको बाँके अहिले सामान्य अवस्थामा फर्कदै छ । संक्रमणको रोकथाम र नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा भोली राती सकिदै छ ।