नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजना संक्रमित बिरामीको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा महोत्तरीका ४५ वर्षीय पुरुषको अघि साझँ ४:०५ बजे मृत्यु भएको हो । त्यस्तैभेरी अस्पतालमा गेरुवा गाउँपालिका-६ बर्दियाका ५६ वर्षीय पुरुषको आज बिहान १०:०५ बजे र टिकापुर नगरपालिका-१ कैलालीका ७५ वर्षीया महिलाको आजै दिउँसो ३:३० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ जना र जिल्लाकै ३१० जनाको मृत्यु भएको छ ।