धनगढीः सुदूरपश्चिम प्रदेश सरकार तेस्रो चरणको कोरोना संक्रमण विरुद्ध पूर्वयोजनामा जुटेको छ । स्थानीय र प्रदेश सरकार मिलेर तेस्रो चरणको भाइरस संक्रमण विरुद्ध पूर्वतयारीको काम सुरु गरिएको प्रवक्ता पूर्णा जोशीले जानकारी दिनुभयो । सीमा नाकाबाट संक्रमण फैलिने भएकाले प्रविधिमैत्री संरचना निर्माण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
गौरीफन्टा नाकासँग जोडिएका कैलाली र कञ्चनपुरका स्थानीय तहले नाकालाई व्यवस्थित बनाउन आवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिसकेकाले संयुक्तरुपमा कार्य गरिने उहाँको भनाइ छ । स्थानीयतह र प्रदेश सरकार मिलेर यात्रुहरु, सुरक्षाकर्मीका लागि पनि आवश्यक संरचना बनाएर मूल नाकालाई व्यवस्थित गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहनुभएकी जोशीको भनाइ छ ।
मन्त्री जोशीले सीमा नाकाको तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने देखिएकाले आज विहानदेखि सरसफाइलगायतका काम थालिएको जानकारी दिनुभयो । प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पनि कोरोना भाइरसको तेस्रो लहर फैलिने कुराहरु आइरहेकाले रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताउनुभयो ।
भारतसँग जोडिएका गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थित गर्र्दै ती नाकाबाट आउने सबै मानिसको चेकजाँच गरेर सुरक्षित साथ घरसम्म पुगाउने काम सुरु गरिएको पनि उहाँको भनाइ छ ।