नेपालगन्जः कोभिड महामारीका कारण बाँकेका ठूला अस्पतालले ओपिडी सेवा बन्द गरे । भेरी अस्पतालको ओपिडी सेवा कहिलेदेखि खुल्ने अझै टुंगो छैन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएको आइतवारदेखि मात्रै ओपिडी सेवा सुरु भएको छ । तर पश्चिम नेपालमा आँखा उपचारको भरोसाको केन्द्रका रुपमा रहेको नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले बन्दाबन्दीमा पनि ओपिडी सेवा नियमित राख्यो ।
अस्पतालका प्रबन्ध निर्देशक डा कौशल वर्माका अनुसार, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बन्दाबन्दीमा विहान ८ बजेदेखि राती ८ बजेसम्म ओपिडी तथा चौबिसै घण्टा इमरजेन्सी सेवा प्रदान गरिएको छ । डा वर्माले बन्दाबन्दीको समयमा दैनिक ४० देखि ५० जना विरामीलाई सेवा दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिवार पनि यो अस्पतालले ओपिडी सेवा दिइरहेको छ । अहिले अस्पतालमा विरामीको चाप झन बढ्दै गएको छ । उहाँका अनुसार ओपिडी सेवा लिनेको संख्या अढाइ सय हाराहारीमा छ ।
अत्यावश्यक शल्यक्रियालगायतको सेवा अस्पतालले बन्दाबन्दीमा पनि दिएको डा वर्माले स्वास्थ्य पेजलाई बताउनुभयो । आइतवारदेखि आँखाका सबै शल्यक्रिया पुनः सुरु गर्ने तयारीमा अस्पताल प्रशासन लागेको छ । कोभिडका कारण बन्दाबन्दी हुँदा इमजेन्सी बाहेकका शल्यक्रिया स्थगित गरिएको थियो ।
पछिल्लो समय कोभिडमुक्त भएका विरामी आँखाको समस्या लिएर आउने गरेका छन् । आँखा रातो हुने, आँखा चस्माको समस्या भएका विरामी अस्पतालमा आउने गरेका हुन् ।
मोतिया बिन्दु, जलविन्दु, आँखा पाकेका विरामीहरु आइरहने यो अस्पतालमा कोभिड महामारीमा भने आँखा रातो हुने समस्या लिएर आउने विरामी बढी देखिएको नेत्र विशेषज्ञ डा राजसी श्रेष्ठले बताउनुभयो ।
त्यस्तै चोटपटक लागेको विरामीपनि बन्दाबन्दीमा बढी आएको डा श्रेष्ठको भनाइ छ । उहाँले बन्दाबन्दीमा भारतीय विरामी उपचारका लागि आएको जानकारी दिनुभयो ।
नाकाबन्द हुँदा उनीहरु पास बनाएर उपचारका लागि फत्तेवाल आँखा अस्पतालमा आउने गरेका छन् । अहिले पनि दैनिक १०-१५ जना भारतीय विरामी आइरहेको डा वर्माले बताउनुभयो । आँखा उपचारमा फत्तेवाल अस्पताल भारतीय सिमावर्ती क्षेत्रमा परिचित मानिन्छ ।