२०७८ सालको शैक्षिक सत्र पनि बैकल्पिक माध्यमबाटै सुरु गर्ने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७८, बुधबार

काठमाडौंः कोरोना भाइरस महामारीका कारण अस्तव्यवस्त भएको पठनपाठनलाई नियमित गराउने तयारी सरकारले गरेको छ । तर भाइरस संक्रमणको जोखिम कायमै रहेकाले बैकल्पिक माध्यमबाट पठनपाठन गराउनेगरी सरकारले तयारी थालेको हो ।

गतवर्ष झैं यस वर्षको शैक्षिक सत्रको सुरुवात पनि वैकल्पिक विधिबाटै सञ्चालन गर्ने तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले असार १ बाट नयाँ शैक्षिक सत्र सुरु हुने घोषणा गरिसकेको छ। योसँगै विद्यालयहरुले पनि असार मसान्तमै नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारीमा जुटेका छन्।

मन्त्रालयले स्थानीय सरकारलाई पनि असार १ बाटै कक्षा सुरु गर्न निर्देशन दिइसकेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका अध्यक्ष टीकाराम पुरीले जतिसक्दो चाँडो परीक्षा छिटो सकेर नयाँ शैक्षिक सत्र सुरु गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कति विद्यालयहरुले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेका थिए भने कतिले विद्यालयको पूर्वाधार क्षमता अनुसार परीक्षा सञ्चालन गरिसकेका छन्।

परीक्षा सञ्चालन गर्न नसकेका विद्यालयहरुको हकमा विद्यार्थीहरुको मूल्याङकन अनुसार नतिजा प्रकाशन गर्ने तयारी छ।

विद्यार्थीहरुको कक्षासँगै यसवर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू भएको छ। विद्यालयहरुले परिवर्तित पाठ्यक्रम अनुसार नै अध्यापन गराउने छन्।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech