नेपालगन्जः बाँकेका सात स्थानीय पालिकामा आज कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भाइरस संक्रमण विरुद्धको भेरोसेल लगाउन सुरु गरिएको छ ।
जिल्लाका आठ स्थानीय पालिकामध्ये डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई भने मंगलवार नै खोप लगाइएको छ । बाँकी सात पालिकामा आज खोप लगाउने कार्य जारी छ । जिल्लामा लक्षित उमेर समूहका ७ हजार ६ सय ७५ जनालाई यो खोप लगाउने लक्ष्य छ ।
त्यस्तै स्वास्थ्यकर्मी, चिकित्सक तथा ट्यांकर चालक र सहचालकका लागि ८ हजार ६ सय ७५ भायल खोप स्वास्थ्य कार्यालयले प्राप्त गरेको खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । त्यही अनुसार, स्वास्थ्य कार्यालय बाँकेले स्थानीय पालिकामा खोप वितरण गरेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा २ हजार २५, कोहलपुर नगरपालिकामा १ हजार ८०, खजुरा गाउँपालिकामा ८ सय ७० भायल खोप पठाइएको छ ।
त्यस्तै राप्तीसोनारी गाउँपालिकामा ९ सय ५०, डुडुवा गाउँपालिकामा ५ सय ६८, नरैनापुरमा ५ सय ५८, जानकीमा ६ सय ५८ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ भायल खोप पठाइएको छ ।
त्यही अनुसार पालिकाका स्वास्थ्य शाखाहरुले लक्षित उमेर समूहका नागरिकहरुलाई खोप लगाउने काम भइरहेको जनाएका छन् । तर नेपालगन्जमा वडास्तरका स्वास्थ्य शाखाहरुमा भने खोप सकिएको छ ।
खोप लगाउन वडा कार्यालय तथा स्वास्थ्य शाखामा पुगेका जेष्ठ नागरिकहरुले खोप पाएका छैनन् । लक्षित समूह भन्दा बाहिका व्यक्तिहरुलाई पनि खोप लगाइएका कारण ती वडामा खोपको अभाव भएको हुन सक्ने बताइएको छ ।