नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारले नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाई निःशुल्क हवाई उद्धार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
आपतकालीन अवस्थाका गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने भनिएको छ । साथै जोखिममा रहेका दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाईनिःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख छ।
उहाँले आपतकालीन अवस्थाका गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । उहाँले प्रदेशभरी निःशुल्क रक्तसञ्चार सेवा संचालन गर्ने समेत जनाएको छ ।
जिल्लास्थित अस्पतालमा नवजात शिशुको जीवन रक्षाका लागि एनआइसियु सेवा सञ्चालनमा ल्याउनुका साथै गर्भवती महिलाको युएसजि लगायतका परीक्षणहरू निःशुल्क गरिने बताउनुभयो । प्रदेश अन्तर्गतका सवै अस्पतालहरुमा एजडियु स्थापना गरिने समेत उल्लेख गरेको छ ।
कोभिड १९ लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गरिने कार्यक्रम पनि प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेटेको छ ।
५० शय्यामा स्तरोन्नति भएका अस्पतालहरूमा पर्याप्त पूर्वाधार सहित विशेषज्ञ सेवा सञ्चालन,विस्तार र आकस्मिक स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइने भएको छ। प्रदेशका दुर्गम क्षेत्रहरूमा विशेषज्ञ सेवा सहितका स्वास्थ्य शिविरहरू सञ्चालन गरिने उल्लेख गरिएको छ ।
प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र वितरणको कार्यलाई थप प्रभावकारी बनाइने भनिएको छ।
जिल्लास्थित अस्पतालहरूलाई ५० शय्याको अस्पतालको रुपमा स्तरोन्नति गर्दै भीम अस्पताल, अर्घाखाँची अस्पताल, बर्दिया अस्पताल र नवलपरासी अस्पतालको नयाँ भवन निर्माणकार्य थालिने भएको छ।
लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा समावेश गरी यी अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गरिनेछ। दाङ्गको लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर स्थापना गरिनेछ।
प्युठान तथा गुल्मी अस्पतालमा डायलासिस सेवा विस्तार गरिने उल्लेख छ । राप्ती उपत्यकाको भालुवाङमा सुविधायुक्त अस्पताल स्थापना गरिने छ ।
स्वास्थ्य सामग्री तथा उपकरणहरूको खरिदलाई प्रभावकारी,व्यवस्थितर गुणस्तरीय बनाउन यस सम्बन्धी प्रादेशिक मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ। प्रादेशिक खरिद सम्बन्धी नियमावलीलाई तदनुरुप परिमार्जन गरिनेछ।