स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद [अध्यादेशको पूर्णपाठ सहित]

    • स्वास्थ्य पेज

  • २३ जेष्ठ २०७८, आईतवार

काठमाडौं: स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउनु, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कुटपिट गरेमा वा शारिरीक रुपमा चोटपटक पुर्याउनुलाई पनि दण्डनीय बनाइएको छ ।

यो कार्य गर्नेलाई तीन वर्षसम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने भनिएको छ। यदी यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

यसैबिच स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपातको मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिए वा कसुरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने अध्यादेशमा व्यवस्था छ । अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्न स्वास्थ्य मन्त्रालयका बाह्रौं तहका कर्मचारीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ ।

यो समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघका साथै निजी अस्पतालहरुको छाता संगठन अफिनका प्रतिनिधि सदस्य रहनेछन् ।

नेपालगञ्जको भेरी अस्पतालमा कोभिड संक्रमित बिरामीको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको निरन्तरको संघर्षपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो ।

अध्यादेशको पूर्णपाठ

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech