नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोहलपुर नगरपालिका-१४ का ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका-१८ दाङका ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि हिजो दिउँसो ३:३० बजे चौरझहारी-४ रुकुमका ६५ वर्षीया महिला र ३:५० बजे नेपालगन्ज उपमहानगरपालिका-११ बाँकेका ५५ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संक्रमणकै कारण मृत्यु भएको थियो ।
त्यस्तै हिजै साँझ ६ बजे भेरी अस्पतालमा उपचारका क्रममा गुलरिया नगरपालिका-४ बर्दियाका ५७ वर्षीय पुरुषको समेत कोभिडकै कारण मृत्यु भएको थियो ।
योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।