काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।
डब्लुएचओले स्वीकृति प्रदान गरेसँगै यी चिनियाँ खोपहरु सबैलाई खोपको समान पहुँचका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत प्रयोग गर्नका लागि बाटो खुला भएको छ ।
डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने डब्लुएचओको भनाइ छ ।
सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभाकले पूरा गरेको डब्लुएचओले बताएको छ ।
सिनोभाक खोप लगाएका मध्ये आधा लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको छ ।
चिनियाँ खोपलाई स्वीकृति प्रदान गरिएसँगै कोभ्याक्स अभियान अन्तर्गत खोपको वितरण सहज हुने अनुमान गरिएको छ ।