नेपालगन्ज: बाँकेमा कार्यरत चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु ‘जेल विथआउट बेल‘को माग सहित आन्दोलनमा छन् । अस्पतालमा निरन्तर बिरामीको सेवामा खटिदा समेत कयौं पटक स्वास्थ्यकर्मीहरु माथि कुटपिट र अस्पतालमा समेत तोडफोडका घटना बढ्न थालेपछि उनिहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
उनिहरुले अस्पताल लगायत स्वास्थ्य संस्थामा अपाराधिक क्रियाकलाप गर्ने जो कोही भएपनि कडा कारवाही गर्न अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको बताउँछन् । केहिदिन अघि भेरी अस्पतालमा उपचारमा रहेका एकजना बिरामीको मृत्यु भएपछि उनका आफन्तहरुले कोभिड आइसीयूमा तोडफोड गर्नुका साथै ड्युटीमा खटिएका चिकित्सक तथा नर्सलाई आक्रमण गरेका थिए ।
त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्स एक तलामाथी रहेको शौचालयको झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए। यो घटनापछि सुरक्षाको माग गर्दै जिल्लाका स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
यस्ता घटना पटक पटक नदोहोरिन ‘जेल विथआउट बेल’ आवश्यक रहेको उनिहरुले बताएका छन् । यसअघि नेपाल चिकित्सक संघले सरकारसँग चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग गरिसकेको छ ।
अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने संघको चेतावनी छ । भेरी अस्पतालमा विरोध कार्यक्रम एकसाता जारी रहनेछ ।