विराटनगर: औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् ।
विराटनगर-१५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रवि कुमार रजकले फिजिसियन सेम्पल औषधीको चरम दुरूपयोग गरेको पाइएको हो ।फिजिसियन स्याम्पलको दुरूपयोग गरेको आरोपमा ३५ वर्षिय रबि कुमार रजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी आइतबार बरामद समेत गरेको छ ।रजकको घर भित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन स्याम्पल औषधी र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बरामद गरिएको थियो ।
प्रहरीले मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारमा छापा हानेर बरामद गरेको छ ।
औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले फार्मेशी संचालक रजकले ठूलो परिमाणमा अनुचित रूपमा फिजिसियन औषधी संचय गरेर राखेको पाइएको बताउनुभयो । पक्राउ परेका रजकलाई प्रहरी र औषधी व्यवस्था विभागले छुटा–छुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।