काठमाडौं: सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा लाग्ने भन्सार महसुल छुट दिने भएको छ। यसवर्ष सरकारले स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमित बिरामीको उपचारमा प्रयोग हुने औषधि आयातमा छुट दिने बताउनुभएको हो । कोरोना भाइरस संक्रमित गम्भीर बिरामीका लागि हाल देश बाहिरबाट रेमडिसिभिर इन्जेक्सन लगायतका विभिन्न औषधि आयात भैरहेका छन् ।
हिजो मात्र कोभिडका गम्भीर बिरामीको उपचारमा प्रयोग गरिने टोसिलिजुमाव इन्जेक्सन समेत नेपाल भित्रिएको छ । यस्तै सरकारले कोभिड रोग नियन्त्रणका लागि ३७ अर्व ५३ करोड विनियोजन गरेको छ ।
यस्तै सरकारले कोरोना महामारीभर अक्सिजन प्लान्ट निर्माणमा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइने बताएको छ।महामारी अवधिभर अक्सिजन उत्पादनमा लाग्ने बिजुली महसुलमा समेत ५० प्रतिशत छुट दिईने छ ।