काठमाडौं: कोरोना भाइरस संक्रमण पुष्टि भएपछि विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर छ । संक्रमणले फोक्सोमा गम्भिर असर पुर्याएपछि उहाँलाई अहिले एक्मो मेशिनको सहायतामा उपचार सुरु गरिएको छ ।
उहाँको अवस्था गम्भीर बन्दै गएपछि सहयोग संकलन थालिएको छ। रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गर्नुभएको छ ।
उपचार खर्च प्रदान गर्ने विषयमा प्रसाईंले विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको हो । मेडिसिटी अस्पतालमा उपचारमा रहुनभएका थापालाई कोभिड सिभिर निमोनिया भइसकेको छ।
अस्पतालका प्रवक्ता तथा मेसु डा.राज राणाका अनुसार उहाँको एक्मोबाट उपचार गर्न सुरू गरिएको छ । एक्मो प्रविधिले बाहिरी पम्पहरु र अक्सिजेनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार बढाउन मद्दत गर्छ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थापा ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो। ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको हो।