नेपालगन्ज: पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उक्त पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा पिसिआर परिक्षणको कामलाई छिटो, छरितो र सहज बनाउनुका साथै बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पिसिआर परिक्षण गरिदिनुपर्ने र कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क रुपमा औषधी उपचारको ब्यवस्था मिलाउन माग गरिएको छ ।
‘रिपोर्टिङमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुर्वसावधानीका लागि पनि पिसिआर परिक्षण महत्वपुर्ण पक्ष हो, पिसिआर परिक्षण रिपोर्ट ढिलो आउँदा ब्यक्तिमा अन्यौलता छाउने र त्यो बेलामा यदी पोजेटिभ भएको भए अन्यलाई पनि संक्रमण फैलिन सक्ने जोखिम हुन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जटिल र कठिन परिस्थितीमा पनि उच्च जोखिम मोलेर बाँकेका पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निभाईरहेका र कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले रिपोर्टिङमा खटिने पत्रकारहरु असुरक्षित रहेको युनियनले जनाएको छ ।
कोरोना संक्रमणबाट बाँकेस्थित खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक रईस साईको केहीदिन अघि दुःखद निधन भएको, कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका २७ जना पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित भइसकेको र संक्रमित मध्ये धेरै जना निको भएपनि केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको युनियनले जनाएको छ ।