धनगढी: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गर्नुभएको छ ।
चीन सरकारको अनुदानमा नभइ आफुले आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरेर वितरण गरेको प्रष्ट पार्नुभएको हो। चीन सरकारको अनुदानमा आएको अक्सिजन ग्यास सिलिण्डरमा आफ्नो तस्बिर राखेर वितरण गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँले आफ्नै व्यक्तिगत लागतमा वितरण गरेको बताउनुभएको हो ।
सेती प्रादेशिक अस्पताल कैलालीमा अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले भन्नुभयो, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ।’
मन्त्री आलेको सचिवालयका अनुसार जिल्ला अस्पताल डोटी र डोटीस्थित स्वास्थ्य संस्थालाई ६० थान अक्सिजन सिलिण्डर र १ लाख ५० हजार थान सर्जिकल मास्क वितरण गरिएको छ। त्यस्तै सेती प्रादेशिक अस्पताल धनगढीलाई ५० थान अक्सिजन ग्याससहितको सिलिण्डर र ५० हजार थान सर्जिकल मास्क वितरण गरिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
यसैबिच उहाँले कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिँदै उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभएको छ ।