नेपालगन्जः दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले संक्रमितको उपचारको क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको निर्णय सुनाउँदै उहाँले भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा गर्नुभएको हो । आइतवार पत्रकार सम्मेलनमा उहाँले दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताउनुभयो।
लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको उहाँले बताउनुभयो । अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने उहाँले बतानुभयो।
यसैबिच केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको पुनः दोहोर्याउनुभएको छ। दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ।