धनगढी: धनगढी स्थित सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा १ हजार १ नमूना परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।अस्पतालका अनुसार गएको २४ घण्टामा अस्पतालबाट कोभिड संक्रमण जितेर १० जना डिस्चार्ज भएका छन् ।
त्यस्तै उपचारका लागि थप ९ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा कोभिड संक्रमित १०३ जना बिरामीको उपचार भैरहेको छ ।
कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा ४ जनाको मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।