नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७ जना गरि कुल १५ जनाले संक्रमणका कारण ज्यान गुमाएको अस्पतालहरुले जनाएका छन् ।
हिजो दिउसो १ बजेदेखि अहिले बिहान ६:३० बजेसम्म (१८ घण्टाको अवधिमा) उनिहरुको मृत्यु भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा स्वर्गद्वारी नगरपालिका-५ प्युठानका ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका-५ दाङका ३५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-१० का ७१ वर्षीय पुरुष, कालिमाटी गाउँपालिका-२ सल्यानका ३४ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका-१० कैलालीका ४० वर्षीया महिला, गुलरिया नगरपालिका-६ बर्दियाका ५५ वर्षीया महिला रहेका छन् ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-१३ बाँकेका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका-७ बाँकेका ४८ वषीय पुरुष, लम्कीचुहा नगरपालिका-३ कैलालीका ६७ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरुष, खजुरा गाउँपालिका-३ का ६७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणकै कारण उपचारका क्रममा निधन भएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कपुरकोट गाउँपालिका-४ सल्यानका ४४ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका-८ बाँकेका ५५ वर्षीया महिला, बैजनाथ गाउँपालिका-६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ-४ का ४३ वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २२२ जना र जिल्लाकै २६७ जनाको हालसम्म मृत्यु भईसकेको छ । गएको १८ घण्टामा ज्यान गुमाएका १५ जना मध्य बाँकेका ८ जना र अन्य जिल्लाका ७ जना छन् ।
बाँकेमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएपनि मृत्युदरमा भने कमि आएको छैन । अहिले संक्रमण पुष्टि हुनेहरु र संक्रमणका कारण मृत्यु भैरहेकाहरु पनि जिल्ला बाहिरका बढी छन् ।