कोभिड विरामीको उपचारमा खटिएका नवविवाहित डाक्टर जोडी भन्छन्–‘विरामीको सेवा अगाडी हनिमुन फिक्का ।’

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: विवाहपछि हनिमुन अर्थात मधुमासका लागि नवविवाहित जोडी लालायित हुन्छन् । स्वदेश तथा विदेशका उत्कृष्ट हनिमुन गन्तव्य नवविवाहित जोडीको न्यानो स्वागतका लागि सदावहार तयार हुन्छन् । एकान्त पहाडको यात्रा, होस् वा बालुवाले भरिएका सामुद्रिक किनारा । या हरियाली, स्वच्छताभित्र चराचुरुङ्गीको चिरवीर आवाज ।

यहीभित्र हराउने चाहा कुन प्रेमिल जोडीलाई नहोलार ? तर डा शिशिर खड्का र डा गोमा रिमाललाई हनिमुन यात्राको साइत जुरेन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एनेस्थेसिया विभागमा कार्यरत रेसिडेन्ट डा खड्का र मेडिकल कलेज कोहलपुरमै स्त्रीरोग विभागमा कार्यरत रेसिडेन्ट डा रिमाल विवाह बन्धनमा बाँधिएको महिना दिन पुगेको छैन् ।

यो बेला प्रकृतिको नजिक आफ्नो प्यारो मान्छेको साथमा तन मन साटिरहेको हुनु पर्ने हो । डा खड्काले आफ्नो रिमाललाई स्वदेशकै प्रकृतिको अनुपम सुन्दरताले भरिएका ठाउँहरुमा घुमाउदै हनिमुन यात्रालाई अवस्मरणीय बनाउने योजना मनभरी नबुन्नु भएको
पनि कहाँ होर ? ‘सायद कोभिड महामारीको यो अवस्था नभएको भए यतिबेला हामी मनाङ, मुस्ताङ, पोखरा वा रारामा हराइरहेका हुन्थ्यौ’–डा खड्काले स्वास्थ्य पेजलाई भन्नुभयो–‘तर परिस्थिति फरक बनिदियो ।’

हनिमुन यात्रामा रोमाञ्चित हुनु पर्ने यो जोडी अहिले कोभिडका विरामीको जीवन जोगाउन अहोरात्र खटिरहेको छ । डा खड्का र डा रिमालको यही बैशाख ११ गते विवाह गर्ने पूर्ववतः साइत थियो । हुन त अघिल्लो वर्ष जेष्ठ २२ गतेकै साइतमा विवाह गर्ने दुई परिवारबीच मोटामाटी सहमति थियो । तर भाइरस संक्रमणको जोखिमका कारण जेष्ठ २२ को साइत बैशाख ११ गतेलाई स¥यो ।

संयोग नै मान्नु पर्छ । बीचमा सिथिल भएको कोरोनाको महामारी चैतको अन्तिम सातादेखि फेरि तीब्र गतिले सल्बलाउन थाल्यो । यसपटक भने साइत खेर जान नदिनेमा दुवै परिवारबीच सहमति भयो । थोरै पारिवारिक जमघटकाबीच दुल्लुनगरपालिका–१ दैलेख निवासी खड्का र बेशीशहर नगरपालिका–८ लम्जुङ निवासी रिमाल विवाह बन्धनमा बाँधिनुभयो ।

खड्का ६ भाइमध्येका कान्छो हुनुहुन्छ भने रिमाल ६ दिदिवहिनीमध्येकी पाँचौ । दाईहरु काठमाडौंमा बस्ने भएकाले शिशिर परिवार दुलही भित्र्याउन काठमाडौंबाटै जन्ती लिएर लम्जुङ गएको थियो ।

‘११ गते लम्जुङ गयौं, १२ गते दुलही लिएर काठमाडौं फर्कियौं डा शिशिरले भन्नुभयो–‘फेरि दैलो फर्काउने भन्ने हुँदो रहिछ १३ गते लम्जुङ गयौं १४ गतेको विहान फलाइटमा नेपालगन्ज आयौं । त्यसैदिनबाट कोभिड विरामीको उपचारमा खटिहाल्यौं ।’

प्राकृतिक मनोरम दृष्यमा हराउँदै प्रेममा चुर्लुम्म डुब्ने यो समयमा डा खड्का र रिमाल भने पीपीइ, मास्क, ग्लोब्स लगाएर विरामीको उपचारमा खटिरहनुभएको छ । ‘रमाइलो त पछि गरौंला डा रिमालले भन्नुभयो–‘अहिले मान्छे बचाउनु छ त्यसको जिम्मेवारी हाम्रो काँधमा छ ।’ त्यही त रिमाल र खड्कालाई हनिमुनको तृष्णा क्षणिक र फिक्का लाग्यो ।

‘मेरो रुचि नै डाक्टर बन्ने थियो । डाक्टर भए । डाक्टर भइसकेपछि यो संकटको बेलामा मैले आफ्नो जिम्मेवारी निर्वाह गरिन भने कस्ले गर्छ ? उहाँले भन्नुभयो–‘विरामीको सेवाको अगाडी मलाई हनिमुनको लोभ फिक्का लाग्यो ।’ पिजि तेस्रो बर्ष अध्ययरत डा रिमाल र डा खडका विगत दुई वर्षदेखि शिक्षण अस्पताल कोहलपुरमा कार्यरत रहनुभएको छ ।

डा रिमाल र खड्का कोभिड संक्रमित अधिकांश गर्भवतिको शल्यक्रियामा सँगै खटिदै आउनुभएको छ । दोस्रो लहरको कोराना सुरु भएसँगै अहिलेसम्म करिव १२ जना गर्भवतिको शल्यक्रिया गरिएको डा रिमालले बताउनुुभयो । ‘अधिकांश शल्यक्रिया सफल भएको छ उहाँले भन्नुभयो–‘केही अन्तिम अवस्थामा आउँदा बचाउन सकिएन ।’

त्यो दिन रोए…

एकजना ३६ हप्ताको गर्भवति कोभिड संक्रमित भइन् । संक्रमणपछि उनी अस्पताल आइ पुगिन् । अस्पताल आउँदा उनको अक्सिजन लेभल ६०/६१ मात्रै थियो । त्यो अवस्थामा शल्यक्रिया गरेर बच्चा निकाल्ने अवस्था थिएन् ।

‘कोभिड वार्डमा राखेर अक्सिजन लेभल मेन्टेन गर्ने प्रयास सुरु ग¥यौं डा रिमालले भन्नुभयो–‘८०/८१ पुगेपछि विरामीको आफन्तकै सल्लाहमा शल्यक्रिया गरियो । दुःख लाग्यो आमा र बच्चा दुवैलाई बचाउन असफल भयौ ।’ त्यसदिन डा रिमाललाई असह्य पीडा भयो । आँखाबाट आँशु झरे । ‘हाम्रो ठूलो इफोट थियो दुर्भाग्यबश त्यो केश सफल भएन् उहाँले भन्नुभयो–‘त्यसदिन खुवै रोए ।’ आफुले उपचार गरेको विरामी निको होस् भन्ने चाहना प्रत्येक चिकित्सकको हुन्छ ।

जुन विरामी उपचारपछि खुसीको भाव लिएर घर फर्किन्छ सायद त्यो जस्तो खुसी एउटा चिकित्सकलाई अरु के हुन सक्छ ? डा रिमालले कोभिडबाट निको भएर घर फर्किएका सुत्केरी विरामीलाई आफै कल गरेर अवस्थाबारे जानकारी समेत लिने गरेको बताउँनुहुन्छ । ‘कतिपय विरामीले त आफै कल गरेर आफ्नो र बच्चाको अवस्थाबारे जानकारी गराउनुहुन्छ डा रिमालले भन्नुभयो–‘कतिपयलाई म आफैले कल गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु ।’

आफुले उपचार गरेर निको भएकी सुत्केरी बच्चा समातेर जव घर फर्किन थाल्छिन् रिमालको आँखाभरी खुसीका पानी बर्सिन थाल्छन् । खड्का शल्यक्रियापूर्व विरामीलाई वेहोस पार्नु हुन्छ । रिमालले शल्यक्रिया गरेर बच्चा निकाल्नुहुन्छ ।

रिमालले हातमा बच्चा समाउँदा कहिलेकाँही खड्का र रिमालको एक आपसमा आँखा जुध्छ । अर्को वर्ष हाम्रो पनि…… आँखा–आँखाबीचको कुराकानी खड्का र रिमालबाहेक अरु कस्ले बुझ्ने ? फेरि नवविवाहित जोडीको पहिलो महिना न हो…….।

क्रिटिकल केश बढी

डा खड्का पहिलो भन्दा दोस्रो लहरमा संक्रमित भएका विरामीको अवस्था गम्भीर भएको बताउनुहुन्छ । गत वर्षको भाइरस संक्रमणमा जेष्ठ नागरिक, दीर्घरोगीमा समस्या बढी देखिएको थियो । युवा र बालबालिकामा संक्रमण खासै देखिएको थिएन् । यो पटक युवा अवस्थाका व्यक्तिहरुमा भाइरस संक्रमण बढी देखिएको उहाँको भनाइ छ ।

संक्रमणसँगै मृत्युदर समेत अस्वभाविक ढंगले बढेको डा खड्का बताउनुहुन्छ । ‘योङ–योङ व्यक्तिहरु मृत्युसँग लडिरहनुभएको छ उहाँ भन्नुहुन्छ–‘अवस्था भयावह र डर लाग्दो छ ।’ बंगलादेशबाट एमवीवीएस गर्नुभएका डा खड्काले पछिल्लो समय विरामीका कुरुवा समेत पोजेटिभ हुने क्रम बढेको बताउनुभयो।

‘विरामीका कुरुवाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा पनि संक्रमण फैलिने जोखिम बढेको छ उहाँले भन्नुभयो–‘उहाँहरु आफै औषधि लिन जाने, सामान लिन बजारसम्मै जाने गर्नुभएको छ यसले संक्रमण अरुमा सार्ने जोखिम झन बढेको देखिन्छ ।’ संक्रमितका कुरुवाहरुलाई सकेसम्म जथाभावी नहिड्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न उहाँको आग्रह छ ।

राज्यलाई दोष लगाउनुभन्दा आमनागरिक नै सचेत बन्नु पर्नेमा डा खड्काको जोड छ । जथाभावी हिडडुल नगर्ने, मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका सावधानी सबैले अपनाउने हो भने भाइरस संक्रमणको चेन ब्रेक गर्न सकिने तर्क डा खड्काको छ ।

 

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech