काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ ।
गएराति नेपाल प्रहरी अस्पतालमा उहाँको निधन भएको हो ।काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँ प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिनुहुन्छ । कोरोना संक्रमणपछि उहाँले ५ मे मा आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको थियो, “भौतिकरुपमा एकपटक सबैसँग आइसोलेट गराई छाड्यो । भावनात्मक रुपमा चाहिँ हैन है । कोभिड–१९ पोजेटिभ ।”
उहाँको निधनप्रति वहालवाला र पूर्व प्रहरी अधिकारीले शोक व्यक्त गरेका छन् ।