नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा २८ वर्षीया महिला सहित थप ८ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा सात जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा हिजो साझँ ५ बजे डुडुवा गाउँपालिका-५ बाँकेका २८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै भेरीमै हिजो ५:४५ बजे खजुरा गाउँपालिका-३ बाँकेका ८५ वर्षीय वृद्ध, ६:३० बजे बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरुष, ७:३० बजे तुलसीपुर उपमहानगरपालिका-३ दाङका ६५ वर्षीय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
यसैबिच बैशाख २९ मा पीसीआर परीक्षण गरि थप उपचारका लागि जेष्ठ ४ गते भेरी अस्पतालमा भर्ना भएका बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरुषको हिजो राती ८:३० बजे संक्रमणकै कारण मृत्यु भएको अस्पताले जनाएको छ । यस्तै घोडाघोडी नगरपालिका-४ कैलालीका ४५ वर्षीय पुरुषको आज बिहान १ बजे, गुलरिया नगरपालिका ४ बर्दियाका ६१ वर्षीया महिलाको आजै बिहान १:१५ बजे मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तिसोनारी गाउँपालिका-६ बाँकेका ५४ वर्षीय पुरुषको आज बिहान १:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हाालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ जना र जिल्लाकै २५६ जनाको मृत्यु भईसकेको छ ।