गुल्मीः मिर्गौला प्रत्यारोपण गरेका गुल्मी रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जित्नुभएको छ ।
२०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताउनुभयो। कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने भण्डारीले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएको २० दिनपछि उहाँ संक्रमणमुक्त हुन सफल हुनुभएको हो ।
भण्डारीले कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा लेख्नुभएको थियो-‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको संक्रमणबाट आक्रान्त हुँदा बाँच्ने झिनो आशा बोकेर संघर्षको मैदानमा होमिए’ ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि गाउँ छिमेक सबैमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।