नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा थप ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-१० दाङका ३८ वर्षीया महिला, मधुवन नगरपालिका-९ बर्दियाका ७० वर्षीया महिला, पन्चपुरी नगरपालिका-६ सुर्खेतका ५९ वर्षीय पुरुष, बासगढी नगरपालिका-६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-६ बाँकेका ४० वर्षीया महिला हुनुहुन्छ ।
त्यस्तै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका ९ बाँकेका ४५ वर्षीया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण अन्य जिल्लाबाट उपचारका लागि आएका १९० जना र जिल्लाकै २३९ जनाको मृत्यु भईसकेको छ ।