अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक मेडिकल उपकरणको अभाव हुन नदिनु-प्रधानमन्त्री

हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन


    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर भयावह बन्दै गएकाले अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक मेडिकल उपकरणको अभाव हुन नदिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उहाँले महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको हो ।

अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उहाँले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गर्नुभयो ।

कोभिड नियन्त्रण गर्न सरकारले गरिरेहेका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैको आ-आफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो रहेको उहाँको भनाई छ ।

कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उहाँले नागरिकको उपचार सरकारले गर्ने बताउनुभयो । हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भन्नुभयो- समस्या भए समस्या छन् पो भन्नुपर्‍यो, कोल्याप्स भयो त भन्नुभएन नि ।

यस्तै प्रधानमन्त्री ओलीले संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेतर्फ सरकार सचेत रहेको जनाउँदै होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech