नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप दुईजना बिरामीको मृत्यु भएको छ । अस्पतालका अनुसार उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-२० बाँकेका ३९ वर्षिय पुरुष र बर्दगोरिया गाउँपालिका-१ कैलालीका २४ वर्षिय पुरुषको मृत्यु भएको हो ।
नेपालगन्जका ३९ वर्षिय पुरुष कोभिड पुष्टि भएपछि थप उपचारका लागि बैशाख २३ गते भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज दिउँसो ४ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
त्यस्तै कैलालीका २४ वर्षिय पुरुष कोभिड पुष्टि भएपछि हिजो भेरी अस्पताल आई थप उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो २:१० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७१ जना र जिल्लाकै २२५ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।