नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालभित्र संचालित गौतम बुद्ध नेपालगन्ज फार्मेसी प्रालिले रेमडिसिभिरमा ठूलो बदमासी गरेको खुलेको छ ।
कोभिड विरामीका लागि आवश्यक पर्ने रेमडिसिभिरमा कालोबजारी गरेको गुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले आज उक्त फार्मेसीको स्थलगत अनुगमन गरेको थियो ।
त्यसक्रममा उक्त फार्मेसीले वीलविजक नकाटेर अनुचित क्रियाकलाप गरेको भेटिएको पाइएपछि कारवाही गरिएको छ । सरकारबाट ७ सय ७ भायल रेमडिसिभिर पाएको सो फार्मेसीसँग २१ भायल विक्री गरेको वील भपाई नभेटिएको अनुगमनमा सहभागी उपभोक्ता हिंत संरक्षण मंच बाँकेका अध्यक्ष वसन्त गौतमले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
‘२१ भायलको कुनै वील भपाई नै भेटिएन गौतमले भन्नुभयो–‘५१ भायल रेमडिसिभर स्टाफ कर्मचारीलाई दिइएको फार्मेसीले भनेको छ तर त्यसको पनि वील भपाई देखिएन् ।’ यो हिसावले हेर्दा गौतम बुद्ध फार्मेसीले रेमडिसिभरमा बदमासी गरेको पुष्टि भएको अनुगमन समितिले निष्कर्ष निकालेको छ ।
त्यही अनुसार यो फार्मेसीलाई २ लाख जरिवाना गरिएको अध्यक्ष गौतमले बताउनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) ञ को कसुर गरेको भन्दै त्यही दफा ३९ (१) ख अनुसार कारवाही गरिएको अध्यक्ष गौतमले बताउनुभयो । पर भायल एक डोजको रु ५ हजार एक सयमा विक्री मूल्य निर्धारण गरिएको छ ।
स्रोत भन्छ–‘वील नदिएर यो फार्मेसीले मोटो रकम असुलेर रेमडिसिभिर विक्री गर्दै आएको गुनासो व्यापक छ ।’ विजय कुमार अग्रवाल संचालक रहेको यो फार्मेसीले ७ सय ७ भायल रेमडिसिभिर पाएको थियो । त्यसमा नेपालगन्जलाई ३ सय ७१ भायल र यस्कै मातहतको कोहलपुर शिक्षण अस्पतालमा संचालिन फार्मेसीलाई ३ सय ३६ भायल रेमडिसिभिर वितरण गरिएको थियो ।
फार्मेसीले अव ११ भायल रेमडिसिभिर बाँकी रहेको जनाएको छ । अनुगमन समितिमा जिल्ला प्रशासन, बाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग, वडा प्रहरी कार्यालयलगायतको सहभागिता रहेको थियो ।