नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पताल नेपालगन्जमा दुई जना र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा एकजना गरी तीन जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
संक्रमणका कारण मृत्यु हुनेहरुमा नेपालगन्ज उप-महानगरपालिका-४ का ५८ वर्षिय पुरुष, जानकी गाउँपालिका-३ बाँकेका ५५ वर्षिया महिला र नेपालगन्ज उप-महानगरपालिका-२ का ७४ वर्षिय पुरुष हुनुहुन्छ ।
बैशाख १७ गते पीसीआर परीक्षण गरि १९ गते थप उपचारका लागि भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगन्ज-४ का ५८ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
जानकी गाउँपालिका-३ बाँकेका ५५ वर्षिया महिलाले स्वास्थ्यमा समस्या आएपछि बैशाख २० गते पीसीआर परीक्षण गरि २३ बैशाखमा भेरी अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँको आज बिहान १०:३० बजे मृत्यु भएको हो । त्यस्तै स्वास्थ्यमा समस्या आएपछि बैशाख १८ गते पीसीआर परीक्षण गरि सोही दिन नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना हुनुभएका नेपालगन्ज-२ का ७४ वर्षिय पुरुषको आज १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका १७७ जनाले ज्यान गुमाइसक्नुभएको छ ।