नमूना विद्यालयमा ‘स्टाफ नर्स’

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

बुटवल ०८, साउन
प्रदेश ५ सरकारले नमूनाको रुपमा विकास गर्न लागेको विद्यालयहरूमा स्टाफ नर्स राख्ने भएको छ।प्रदेश सरकारले एक जिल्लामा एक वटाका दरले विकास गर्न लागिको प्रदेश नमूना विद्यालयमा विद्यार्थीको स्वास्थ्य रेखदेख र परीक्षणका लागि स्टाफ नर्सको व्यवस्था गर्न थालेको जनाएको छ।

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/७७ देखि नमूना विद्यालय कार्यक्रम अन्तर्गत नर्स राख्न लागेको हो । स्थानीय सरकारको २० प्रतिशत लागत सहभागीता रहनेगरी प्रदेश सरकारले १२ वटा नमूना विद्यालयको कार्यक्रम अघि सारेको छ। नयाँ आर्थिक वर्षमा थप १२ वटा विद्यालयका लागि बजेट विनियोजन गरिसकेको प्रदेश सरकारले जनाएको छ।विद्यार्थीहरूको स्वास्थ्य रेखदेख एवं परीक्षण गर्न स्टाफ नर्स राख्न लागिएको हो ।

प्रदेश ५ का शिक्षा तथा सामाजिका विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले आर्थिक वर्ष २०७६/७७ मा एक जिल्लामा एक वटा पर्ने गरी १२ वटा नमूना विद्यालय छनौट गरिएको जानकारी दिनुभयो ।प्रत्येक पालिकामा एक विद्यालयलाई नमूनाको रुपमा विकास गर्ने नीति प्रदेश सरकारले लिएको त्यस अनुसार कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा पनि थप १२ वटा नमूना विद्यालयको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

नमूना विद्यालय छनौटका लागि प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरी प्रस्ताव आह्वान गर्ने र मापदण्ड अनुसार विद्यालयले पेश गरेको प्रस्तावनाको अध्ययन गरी छनौट गर्ने गरेको उहाँले बताउनुभयो।उहाँले प्रदेश सरकारले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ बनाई त्यस अनुसार काम अगाडी बढाएको जानकारी दिनुभयो। निर्देशक गैरेका अनुसार छनौटमा परेका विद्यालयलाई प्रदेश सरकारले ७५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने त्यसको २० प्रतिशत अर्थात १५ लाख रुपैयाँ स्थानीय सरकारले उपलब्ध गराउनुपर्नेछ।

छनौटमा परेका विद्यालयले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ मा उल्लेख भएका ३० वटा सूचकमा रहेर विद्यालय सुधारका कामहरू गर्नुपर्ने हुन्छ। दोश्रो वर्षमा भने ति विद्यालयहरूले प्रदेश सरकारबाट थप २५ लाख रुपियाँ पाउने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ पाएका प्रदेशका १२ नमूना विद्यालयहरूले आर्थिक वर्ष २०७७/७८ मा २५ लाख रकम पाउनेछन्। त्यसैगरी यस आर्थिक वर्षमा प्रदेश ५ मा १२ वटा थप नमूना विद्यालयका लागि विद्यालयहरू छनौट गरिनेछ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech