प्रियास्मृति ढकाल,
गत जेष्ठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ बर्षिय युवकको जीवनजल नपाएरै क्वारेन्टिनमा मृत्यु भयो। न उनले क्वारेन्टिनमा औषधि पाए, न त उनलाई उपचारका लागि सदरमुकाम नेपालगन्ज लैजान एम्वुलेन्स । नरैनापुरबाट नेपालगन्ज करिव ४० किलोमिटर पश्चिम पर्छ । दीपेन्द्र प्रावि क्वारेन्टिनमा बसेका युवकको मृत्युले नरैनापुरका अन्य क्वारेन्टिनमा बस्दै आएका स्थानीयलाई अझै झस्काइरहन्छ ।
दीपेन्द्र प्रावि क्वारेन्टिनदेखि करिव ६ सय मिटर नजिकै रहेको जयकिसान मावि क्वारेन्टिनमा बस्दै आएका एकजना युवा भन्दै थिए,–‘कोरोनाको डर छैन, तर यहाँ अरु कुनै विरामी परे उपचार नपाएर मरिन्छ की भन्ने डर छ ।’ बाँकेमा करिव तीन सयको हाराहारीमा कोरोना संक्रमित पुग्दा नरैनापुरमा मात्रै संक्रमितको संख्या १ सय १८ छ । दुई हप्ता बढी भयो नरैनापुरमा अहिले पनि निषेधाज्ञा कायमै छ र, नेपाली सेना परिचालन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह भन्नुहुन्छ–‘क्वारेन्टिनमा एकजनाको मृत्युपछि यहाँसम्मको त्रास सिर्जना भयो, क्वारेन्टिनमा बसेकाहरु नै भागे ।’ नेपाली सेना नै परिचालन भएपछि गाउँपालिकाले अहिले केही राहतको सास फेरेको छ । चर्को गर्मीमा टिनको छानोमा बनाइएको क्वारेन्टिनमा बस्नेहरुको अवस्था विजोग छ । भौतिक पूर्वाधार अभाव र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण अधिकांश क्वारेन्टिन भय गराउने खालकामात्रै छन् । न स्वास्थ्यकर्मी न त खानपिनको राम्रो व्यवस्था । नरैनापुरमा त झन विद्युत नै छैन् ।
एउटा क्वारेन्टिनमा पाँच स्वास्थ्यकर्मी खटाउनु पर्ने मापदण्ड छ । यस्तै आइसोलेसनमा मेडिकल अधिकृतकै नेतृत्वमा चिकित्सक परिचालन गर्नुपर्ने मापदण्ड छ । विटक नरैनापुरमा मात्र होइन बाँकेका अधिकांश पालिकामा रहेका क्वारेन्टिन र आइसोलेसन भगवान भरोसामा छन् ।
डुडुवा गाउँपालिका ३ शाहपूर्वामा रहेको आइसोलेसनमा १५ जना कोरोना संक्रमितलाई राखिएको छ । उक्त आइसोलेसनमा राखिएको १० दिनको दिन संवाददाता पुग्दा उनीहरुसँग न सेनिटाइजर थियो न त हात धुनलाई सावुन । न त्यहाँ स्वास्थ्यकर्मी थिए, न त एम्वुलेन्स नै तयारी अवस्थामा राखिएको थियो । जव की कोरोना संक्रमित राखिएको आइसोलेसनमा चिकित्सक सहितको टोली र एम्वुलेन्स तयारी अवस्थामै हुनु पर्ने हो । ‘भद्रगोल आइसोलेसनले मृत्युको त्रास सिर्जना गरिरहेको छ’ एकजना संक्रमितले भने । गाउँपालिकाका उपप्रमुख शाहिदा वानुले फोन गरेपछि स्वास्थ्य सेवा केन्द्रका प्रमुख खड्क रोका हस्याङफस्याङ गर्दै आउनुभयो । आइसोलेसनको भद्रगोल व्यवस्थापन ढाकछोप गर्दै उनी भन्दै थिए, ‘गाउँपालिकाबाट सावुन मगाएका छौं आज साँझसम्म आइहाल्छ ।’
बाँकेमा संक्रमितको संख्या बढ्न थालेपछि गाउँगाउँमा आइसोलेसन स्थल बनाइएका छन् । क्वारेन्टिनकै मापदण्ड नपुगेका ठाउँलाई आइसोलेसन केन्द्रमा परिणत गरिएका कारण जोखिम झन बढेको अधिकारकर्मीहरु बताउँछन् । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ अव्यवस्थित क्वारेन्टिन र आइसोलेसनका कारण मानिसहरुको ज्यानै जोखिममा परेको बताउनुहुन्छ। आइसोलेसन कक्षका लागि चारखुट्टे खाट, बिजुली बत्ती, एम्बुलेन्स र चिकित्सकलाई अनिवार्य शर्त बनाइएको छ । तर कोरोना अस्पताल खजुरा बाहेक अधिकांश पालिकामा चिकित्सक छैनन् ।
कोभिड–१९ जिल्लास्तरीय संकट व्यवस्थापन समितिका संयोजक रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ जनशक्ति अभावका कारण प्रत्येक आइसोलेसनमा चिकित्सक परिचालन गर्न नसकिएको बताउँनुहुन्छ । तर उहाँ भन्नुहुन्छ–‘प्रत्येक पालिकाका लागि अनकल डाक्टर तोकिएको छ । जहाँ समस्या आउँछ त्यहाँ उनीहरु तत्काल पुग्नु हुने छ ।’ बोलाउनै बित्तिकै जाने गरी डाक्टरलाई ‘स्ट्यान्डबाई’ राखिएको भएपनि नरैनापुर र राप्तीसोनारीका लागि त्यो सम्भव छ त ? ति पालिकका प्रमुखहरु सिधैं भन्छन्–‘त्यो व्यवहारिक छैन्। न भनेको समयमा फोन लाग्छ न त एम्वुलेन्स नै पाउँछ ।’
अधिकांश क्वारेन्टिन र आइसोलेसन सेन्टर विद्यालयमा सञ्चालन गरिएका छन् । बाँकेको खजुरा गाउँपालिका बाहेक अन्य सबै पालिकाले क्वारेन्टिन र आइसोलेसनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरेका छन् । संघीय सरकारको मातहतमा सञ्चालन हुने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा भने प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरिरहेको छ । जिल्लामा मापदण्डअनुसारको एक मात्र आइसोलेसन अस्पताल यही हो ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, जानकी, बैजनाथ, र राप्तीसोनारीमा गरी १३ वटा आइसोलेसन सेन्टर सञ्चालनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ क्वारेन्टिनमा केही सुविधा थपेर जसोतसो आइसोलेसन सेन्टर बनाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘जिल्लाका आइसोलेसन सेन्टरहरू भरिभराउ छन् । थप संक्रमित पुष्टि भएमा अरू आइसोलेसन केन्द्र बनाउनुपर्ने खाँचो छ ।’ बाँकेमा अहिलेसम्म संक्रमितको संख्या करिव तीनको हाराहारीमा पुगिसकेको छ । एकजनाको मृत्यु समेत भइसकेको छ भने निको भएर फर्किनेको संख्या एक सय ३५ छ ।