नेपालगन्ज, २१ जेष्ठ ।
पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको छ ।
प्रदेश १ को ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । ताप्लेजुङको शान्ति गाउँपालिकाकको क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ४० वर्षीय पुरुष हुन् । यस्तै, पाँचथर हिलेहाङ गाउँपालिकाका २० वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ
तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीया महिला र धनकुटा शहीदभूमि गाउँपालिकाका २७ वर्षीेय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिकाका ३० वर्षीय पुरुष र कमल गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको रंगेली नगरपालिकाको क्वारेन्टिनमा रहेका २६ र ३६ वर्षका दुई जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनसरीमा ८ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ७ जना भोक्राह गाउँपालिकाको क्वारेन्टिनमा रहेकाहरू हुन् । यस्तै, बराहक्षेत्रको क्वारेन्टिनमा रहेका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।