संकटमा दायित्व निभाएका एम्बुलेन्स चालकलाई कस्ले दिन्छ कोरोना भत्ता ?

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्ज २४, कात्तिक ।
कोरोना भाइरस महामारीमा फ्रन्टलाइनमा खटिएका बाँकेमा एम्बुलेन्स चालकहरुले अझैसम्म पनि जोखिम भत्ता पाएका छैनन् । आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरस संक्रमित विरामीहरुलाई क्वारेन्टिनबाट आइसोलेसनदेखि अस्पतालसम्म पुर्याउने काममा अहोरात्र खटिएका उनीहरु भत्ता नपाउँदा खिन्न् भएका छन् ।

दैनिक एक हजार पाँचसयका दरले भत्ता दिने प्रतिबद्धता जनाउँदै स्थानिय पालिका र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले एम्बुलेन्स चालकहरुलाई कोभिडका विरामी बोक्न अनुरोध गरेका थिए । ‘आफ्नो ज्यान फाँलेर, घरपरिवार नभनेर त्यस्तो महामारीमा कोभिड १९ का विरामी बोकियो साइनिङ अस्पतालका एम्बुलेन्स चालक आशिष राना मगरले स्वास्थ्य पेजलाई दुखेसो पोख्दै भन्नुभयो–‘तर अहिलेसम्म एक रुपैयाँ पाइएको छैन् ।’

एम्बुलेन्स चालक आशिष राना मगर तस्विरः नेपालगन्ज ग्यालरी

एम्बुलेन्स चालक आशिष राना मगर
तस्विरः नेपालगन्ज ग्यालरी

उहाँले ७० दिनसम्म कोभिड १९ का विरामी अस्पताल तथा आइसोलेसनमा पुर्याउने काम गरेको बताउनुभयो । ‘एक दिनको १ हजार ५ सय रुपैयाँका दरले ७० दिनको एक लाख ५ हजार हुन्छ तर एक रुपैयाँ पाइएन्’ उहाँको गुनासो छ । रानामगर मात्र होइन धर्मवीर काहरको पीडा पनि उस्तै छ । कान्ति आरोग्य अस्पतालका एम्बुलेन्स चालक काहरले पनि ५० दिन बराबरको जोखिम भत्ता पाउनुभएको छैन् ।

‘कोहीले नगरपालिकाले दिन्छ भन्छन् कोहीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दिन्छ भन्छन् उहाँले भन्नुभयो–‘६ महिना भयो भत्ता पाइएको छैन् ।’ त्यस्तै पीडा न्यूँ भिजन आँखा अस्पतालका चालक कर्ण वलीको पनि छ । उहाँले पनि अहिलेसम्म जोखिम भत्ता पाउनुभएको छैन् ।

 

एम्बुलेन्स चालक धर्मवीर काहर तस्विरः नेपालगन्ज ग्यालरी

एम्बुलेन्स चालक धर्मवीर काहर
तस्विरः नेपालगन्ज ग्यालरी

बाँकेमा पहिलो पोजेटिभ केस नेपालगन्जको जोलहनपुरुवामा बैशाख १८ गते फेला परेको थियो । त्यतीबेला कोरोनाको त्रास हदै थियो । ‘त्यो त्रासका बीच हामीले आफ्नो र परिवारको ज्यान हत्केलामा राखेर विरामीको सेवा गर्यौं खै त्यसको सम्मान ?’ वलीको प्रश्न थियो । मानविय सेवामा समर्पित भनिएका कैयौ एम्बुलेन्स चालकले महामारीको सुरुवाती चरणमा एम्बुलेन्स चलाउनै मान्दैन्थे ।

कोभिडका विरामी बोक्न नेपालगन्ज उपमहानगरपालिकाले संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर तीन वटा एम्बुलेन्स प्रयोग गरेको थियो । साइनिङ अस्पताल, न्यूँ भिजन र कान्ति आरोग्य अस्पताललाई कोभिडका विरामी बोक्ने जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिकाले दिएको थियो ।ती चालक र सहचालकहरुलाई जोखिम भत्ता दिने भनिएको थियो । सरकारले नै एम्बुलेन्स चालक र सहचालकलाई जोखिम भत्ता दिने भनेको छ । त्यसको लागि निर्देशिका नै जारी गरेको छ ।

एम्बुलेन्स चालक कर्ण वली तस्विरः नेपालगन्ज ग्यालरी

एम्बुलेन्स चालक कर्ण वली
तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्ज उपमहानगरपालिकाले भने एम्बुलेन्स चालकहरुको भत्ता दिने निर्णय जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले गरिसकेको जनाएको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले चालकहरुको जोखिम भत्ताको विवरण नगरपालिकाले केन्द्रलाई पेश गरिसकेको र त्यहाँबाट दिने निर्णय भइसकेको स्वास्थ्य पेजलाई बताउनुभयो । तर केन्द्रले भने बजेट अभावका कारण भत्ता दिन नसकेको बताएको छ ।

केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले केन्द्रसँग बजेट नभएकाले भत्ता दिन नसकिएको बताउनुभयो । ‘केन्द्रलाई बजेट आउन्न, स्थानीय पालिकाले दिएको बजेटबाटै काम चलेको छ, उनीहरुको भत्ता पनि स्थानीयले तहले नै दिन्छन्’ उहाँको भनाइ थियो ।

 

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech