कोरोना संक्रमितले भरिए कैलालीका आइसोलेसन वार्ड

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७७, बुधबार

कैलाली २१, जेष्ठ ।
कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ।

आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ। कैलालीका यी दुबै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ।

मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा शैया अभाव भएको सेती अञ्चल अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालसँग २४ शैया र टीकापुर अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड छ। सेतीमा बिरामीको सङ्ख्या २५ पुगिसकेको छ। अझै गौरीगङ्गाका पाँच सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले शैया अभाव भएकाले बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या भएको बताउनुभयो ।

‘सङ्क्रमित दैनिक थपिन थालेका छन्,’ पाण्डेले भन्नुभयो, ‘अब बिरामी कहाँ राखेर उपचार गर्ने भन्ने विकल्प खोजिनुपर्छ।’

टीकापुर अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड छ। यहाँ १३ जनाको उपचार भइरहेको छ। टीकापुरमा मङ्गलबार चार जनामा सङ्क्रमण देखिएपछि एक जनालाई शैया अभाव हुँदा अस्पतालका अन्य वार्डमा रहेको शैया प्रयोग गरेर बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दुवै अस्पताल भरिएकाले अब अन्य ठाउँमा पनि विकल्प खोजी गरी बिरामी राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताए। सेती अस्पतालमा ५० शैयाको कोरोना अस्पताल निर्माणपछि हस्तान्तरण भइसकेको छ तर उपकरण जडान बाँकी रहेकाले सञ्चालनमा आउन सकेको छैन।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech