नेपालगन्ज २४, असोज ।
‘परिवारको एउटा सदस्य मानसिक रोगबाट समस्याग्रस्त हुँदा त्यसले पुरै परिवारलाई नै मानसिक समस्यामा पार्छ मानसिक रोग विशेषज्ञ डा तनवीर अहमद खानले भन्नुभयो–‘समयमै मानसिक समस्याको पहिचान गरेर निदानको उपाय खोजिएन भने उर्जाशील उमेरका धेरै व्यक्तिहरु बेरोजगार बन्ने भयावह अवस्था छ ।’ विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य पेजसँग कुराकानी गर्दै डा खानले मानसिक स्वास्थ्यका क्षेत्रमा राज्यको लगानी नगन्यमात्रमा भएको बताउनुभयो । ‘मानसिकरुपमा मानिस स्वस्थ भएन भने उस्ले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि कुनै योगदान नै दिनसक्दैन् । यस्तो संवेदनशील सवालमा राज्यको लगानी नगन्यमात्रामा हुनु दुःखद हो ।’ मानसिक समस्याबाट बालबालिकादेखि ज्येष्ठ नागरिकसमेत पीडित रहेको भन्दै उहाँले सहि समयमा सहि उपचार पाए ९९ प्रतिशत मानसिक समस्या हल गर्न सकिने बताउनुभयो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश
मानसिक स्वास्थ्य उपचारको सुरुवात
हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो बर्षको नारा ‘सबैको लागि मानसिक स्वास्थ्यः पर्याप्त लगानी व्यापक पहुँच । जसलाई पनि जहाँ पनि ।’ भन्ने तय गरिएको छ । जसको अर्थ मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनु पर्यो र सबैको सहज पहुँच हुनु पर्यो भन्ने हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका चारमध्ये एक व्यक्ति आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक रोगबाट प्रभावित हुने गरेका छन् । तर नेपालमा यसको आधिकारीक तथ्यांक छैन् । नेपालमा पाँचजना मध्ये चारजनाले औषधि नै नलिने गरेको तथ्यांक छ । यस वर्ष कोभिड–१९ महामारीको कारण मानसिक स्वास्थ्य समस्या बढ्दो गतिमा छ ।
लामो लकडाउन र कोरोनाको त्रासका कारण मानसिक समस्यालाई बढाएको देखिन्छ । हालको महामारीले विश्वव्यापी आर्थिक संकट उत्पन्न गराएसँगै मानिसमा मानसिक स्वास्थ्य समस्याको वृद्धि पनि गराइरहेको कुरा स्पष्ट छ । नेपाल प्रहरीका अनुसार राष्ट्रव्यापी लकडाउनको पहिलो ७४ दिनमा १२२७ जनाले आफ्नो जीवन अन्त्य गरेका छन् । नेपालमा पहिलो मनोचिकित्सक बिरामी विभाग सेवा सन् १९६१ मा स्थापना भएको थियो । त्यसको सुरु पहिलो मनोचिकित्सक डा विष्णुप्रसाद शर्माले गर्नुभएको थियो । सन् १९८४ मा स्थापित लगनखेल मानसिक अस्पताल नेपालको सबभन्दा पुरानो मानसिक अस्पताल हो । मानसिक स्वास्थ्य सम्बन्धी नीति नेपालमा सन् १९९७ देखि लागू भएको छ, तर नीतिगत ढाँचा कार्यान्वयन हुन बाँकी नै छ ।
के हो र किन हुन्छ मानसिक समस्या ?
मानसिक स्वास्थ्य एक दिनमै बिग्रिने कुरा होइन । यसका विभिन्न कारण छन् । जस्तैः सामाजिक, आर्थिक स्थिति, व्यक्तिगत जीवन परिस्थिति, वातावरण, गम्भीर वा दीर्घकालीन तनाव, शारीरिक स्वास्थ्य अवस्था, पारिवारिक असमर्थन, साथीहरूबीच सम्बन्ध र अन्य रहेका छन् । कुनै पनि उमेरका व्यक्ति मानसिक स्वास्थ्य समस्याहरूको खतरामा पर्न सक्छन् । मानसिक समस्या भन्ने वित्तिकै सानो बच्चादेखि बृद्धसम्ममै हुन सक्छ । खासगरी नेपालमा मन आत्तिने समस्याबाट धेरै पीडित हुनुहुन्छ ।
डिप्रेशनको पनि उस्तै समस्या छ । दुव्र्यसनीको लतलगायतका समस्याबाट धेरै पीडित भएको पाइएको छ । पछिल्लो समय लकडाउनका कारण बालबालिकाहरु मानसिक रोगको बढी सिकार भएका छन् । उनीहरुलाई मोवाइल, टिभी र इन्टरनेटको लत नै लागिसकेको छ । यो पनि समस्या नै हो । बृद्धहरुमा डिप्रेशन, विस्मृति (भुल्ने) समस्या बढी देखिएको छ । युवाहरुम लागु पदार्थ दुव्र्यसनीको लतबाट समस्या बढी देखिएको छ ।यो हिसावले हेर्दा उर्जाशिल उमेर समूहका जस्तै २० देखि ४५ बर्ष उमेर समूहका मानिसहरु अहिले मानसिक समस्याबाट बढी पीडित देखिएको पाइएको छ ।
मानसिक समस्या भयो भनेर कसरी थाहा पाउने ?
मानसिक समस्या भयो भनेर स्वयमलाई थाहा पाउन अलि गाह्रो छ । मानसिक समस्याका जुन लक्षण छन् त्यो सामान्वय जीवनशैलीमा पनि भइरहेकै हुन्छन् । जस्तैः बोल्दा झर्किने, रिसाउने, तनाव हुने, राती अवेरसम्म निद्रा नलाग्ने । तर यी समस्या हुँदैनमा मानसिक समस्या हो भन्न चाही मिल्दैन् । तर यी समस्याले हाम्रो दैनिक जीवनमा प्रभाव पार्न थाल्यो, काम मै असर पर्न थाल्यो भने तत्काल मनोचिकित्सकसँग परामर्श लिइहाल्नु पर्छ ।
आत्महत्या पूर्वका संकेत
आत्महत्या गर्नुभन्दा पहिले उस्ले त्यस्ता पूर्वसंकेतहरु गरिरहेकै हुन्छ । तर हामीले नजरअन्दाज गछौं । एक्लै बस्न रुचाउने । सामाजिक संजालमा निराशाजनक अभिव्यक्तीहरु दिने । परिवारसँग बोल्न मन नपराउने । अस्वभाविक व्यवहार देखाइरहेको हुन्छ । यस्तो अवस्थामा परिवारका व्यक्तिहरुले उस्लाई केयर गर्नु पर्छ । उस्लाई मनोवल बढाउन परिवारले प्रेरित गर्नु पर्छ । जोखिमपूर्ण त्यस्ता सामाग्रीहरु उस्को पहुँच भन्दा टाढा राख्नु पर्यो । र यतीले पनि सुधार नभए मनोचिकित्सक तथा मनोपरार्श सेवा लिनु पर्छ । त्यसो गर्न सकियो भने आत्महत्याबाट जोगाउन सकिन्छ ।
मानसिक समस्याबाट जोगिने उपाय र राज्यको लगानी
नेपाल अझै पनि मानसिक रोगको विषयमा खुल्न संघर्ष गरिरहेको छ । व्यक्तिहरू सोच्छन् कि, मानसिक रोग पूर्ण रूपमा निको हुन सक्दैन र यसले मृत्यु निम्त्याउँदैन। त्यसैले तिनीहरू उपचार खोज्न ढिलाइ गर्छन् र यदि खोजेछन् भने पनि परम्परागत उपचार धाँमी, झाँक्री गर्नेसँग परामर्श लिने गर्छन्। तर मानसिक रोग विशेषज्ञसम्म पुग्नै सक्दैनन् र पुगेपनि अन्तिम समयमा पुग्ने गरेका छन् । जस्का कारण उनीहरुलाई पहिलेकै अवस्थामा फर्काउन समय लाग्छ । तर समयमै मनोचिकित्सक तथा मनोपरामर्शदातासँग पुग्ने हो भने ९९ प्रतिशत मानसिक समस्या हल गर्न सकिन्छ । जागरूकताको अभावले मानिसहरू उचित मानसिक स्वास्थ्य उपचारको लागि अगाडि आउन हिच्किचाउँछन् । करिब ९० प्रतिशतभन्दा बढी नेपालीको स्वास्थ्य सेवामा पहुँच नै छैन ।
हामीले आफ्नो मानसिक स्थिति स्वस्थ राख्न धेरै उपाय गर्न सक्छौं। यसका लागि आफ्ना प्रियजनहरूसँग नियमित सम्पर्कमा रहने जसका लागि टेलिफोन, इमेल, सोसल मिडिया वा भिडियो कन्फरेन्सका माध्यम छान्न सकिन्छ । खाने, सुत्ने, व्यायाम गर्ने र अन्य स्वास्थ्य गतिविधिहरूका लागि सकेसम्म नियमित समय तालिका बनाउने । केही मानसिक स्वास्थ्य सम्बन्धी समस्या महसुस हुँदा आफ्नो नजिकका व्यक्तिसामु भावना साटासाट गर्ने । मानसिक स्वास्थ्य समस्याहरू सामान्य बनाउन अझै लामो बाटो बाँकी नै छ । तर हामी हाम्रो तर्फबाट प्रयास भने गर्न सक्छौं ।
मानसिक स्वास्थ्यका मुद्दाहरू सम्बोधन गर्न आवश्यक छ । अधिकांश व्यक्तिले आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धित चुनौतीहरूको अनुभव गर्ने गर्छन्। हामी सबै यसका जोखिममा छौं र मानसिक स्वास्थ्य अवस्थाको बारेमा खुला र इमान्दार कुराकानी पनि हुनुपर्छ र उपचार विकल्पहरू उपलब्ध छन् भनेर पनि थाहा पाउनुपर्छ।
राज्यले मानसिक स्वास्थ्यका क्षेत्रमा लगानी बढाउन जरुरी छ । मानसिक स्वास्थ्यलाई सरकारले पनि अपहेलना गरेको छ । बजेट दिएको छैन् । नेपालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको अभाव छ । नेपालमा ७७ जिल्ला मध्ये ७ वटा जिल्लाबाट मात्र सरकारले मानसिक स्वास्थ्य सेवा दिएको छ । भएका मानसिक रोग विशेषज्ञ काठमाडौंमै छन् । मोफलसमा चिकित्सककै अभाव छ । त्यसैले राज्यले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
(मानसिक रोग विशेषज्ञ डा तनवीर अहमद खानसँगको कुराकानीमा आधारित)