नेपालगन्ज ३०, भदौ ।
लक्षण चिन्ह देखिएका कोभिड–१९ का विरामीहरुको संख्या थपिएदै गएपछि कोभिड वार्डमा मधु गुरुङको व्यस्तता पनि बढ्यो । विरामीको अक्सिजन मात्रादेखि ज्वरो चेक गर्न पटक पटक उहाँ वार्डमा पस्नु पर्यो । ‘विरामीलाई औषधि पनि दिनै पर्यो । कहिले त नियमित दुई तीन घण्टासम्मै विरामीसँग एक्सपोज हुनु पर्छ, भेरी अस्पताल नेपालगन्जको कोभिड आइसोलेसन वार्डमा कोभिडका विरामीको उपचारमा खटिनु भएकी नर्स मधुले भन्नुभयो–‘यस्तो परिस्थितिमा विरामीको सेवा हामीले नगरे कस्ले गर्छ ?’
पीपीइ, मास्क र ग्लोब्स यही हो उहाँको स्वास्थ्य सुरक्षा सामग्री । स्वास्थ्य सुरक्षा सजगता अपनाउँदा अपनाउँदै पनि मधु आफै भाइरस संक्रमित भइसक्नु भएछ । ‘हेर्नुहोस् विरामीको उपचार गर्दा गर्दै म नि पोजेटिभ भइसके छु, थाहा नै भएन् उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘जुन वार्डमा काम गरे म नि त्यही वार्डमा आइसोलेसनमा बस्नु पर्यो ।’ न कुनै लक्षण चिन्ह, न त कुनै स्वास्थ्य समस्या मधु आफै संक्रमित भएपनि आइसोलेसनमा बस्दाका दिनहरु भने उहाँले आफुजस्तै संक्रमितहरुको उपचार गरेर विताउनुभयो ।
‘मैले विरामीको उपचार गर्नुपर्छ, विरामीलाई सेवा दिनुपर्छ भनेर आइसकेपछि सबै चुनौतिलाई किनारा लगाउन सक्नुपर्छ ।’
‘मलाई त झन सहज भयो उहाँले भन्नुभयो–‘अन्य संक्रमितहरुलाई काउन्सिलिङ गर्नेदेखि उपचारसम्मै गरे ।’ करिव चार महिनादेखि आइसोलेसनमा वार्डमा कार्यरत मधुलाई सुरुवाती दिनमा कोभिडको त्रास नभएको होइन् तर आफ्नो पेशा र सेवाले उहाँलाई त्रासभन्दा पनि आत्मबल बढाउने काम गर्यो । त्यही आत्मबलका कारण उहाँ आफै संक्रमित भएर पनि विरामीकै उपचारमा खटिरहनुभयो ।
भदौ १६ गते भाइरस संक्रमण पुष्टि भएकी उहाँ अहिले डिस्चार्ज भइसक्नु भएको छ । ‘परिवारले के भन्छ ? समाजले के भन्छ ? भन्दा पनि आफ्नो पेशा के हो ? त्यो ठूलो कुरा हो । उहाँले भन्नुभयो–‘मैले विरामीको उपचार गर्नुपर्छ, विरामीलाई सेवा दिनुपर्छ भनेर आइसकेपछि सबै चुनौतिलाई किनारा लगाउन सक्नुपर्छ ।’
*************
शरिरमा सेतो एप्रोन छ । मुख नाका छोपिने मास्क । पातली र मध्यम कदकी यमकुमारी थापा । बिरामीलाई औषधि र स्वास्थ्य ‘टिप्स’ दिनुहुन्छ । खुशी बस्न उत्प्रेरित गर्नुहुन्छ । निराश नहुन विरामीलाई आग्रह गर्नुहुन्छ ।
चार महिनाबढी भयो नर्स थापाले आइसोलेसन बार्डका विरामीलाई कोरोना कुनै ठूलो रोग होइन, तपाई सजिलै जित्न सक्नु हुन्छ भन्दै विरामीको आत्मबल बढाउन थालेको । तर संक्रमितलाई यसरी आत्मबल र उत्प्रेरित गर्ने नर्स थापालाई सुरुमा भने भाइरसको त्रासले खुवै सताएको रहिछ । ‘त्यो सुरु केस हेर्दा त .. ओ माई गड ! यति डर लागेको थियो ।
‘अहिलेको परिस्थितिमा संक्रमितलाई घर परिवार र समाजले समेत तृष्कारको भावले हेरेको देखिन्छ यस्तो अवस्थामा स्वास्थ्यकर्मीले सेवा नगरे कस्ले गर्छ ?’
उहाँले पहिलो केस हेर्दाको अनुभुव बाँड्दै भन्नुभयो–‘पीपीइ, मास्क, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री लगाएर उच्च सावधानीका साथ वार्डमा जाँदा पनि त्यो दिन त कोरोना सर्छ की झै लाग्यो । तर पछिपछि बानी नै पर्यो ।’ कोभिडका विरामीको सेवा गर्न पाउँदा गर्भ महसुस भएको उहाँको भनाइ छ ।
‘अहिलेको परिस्थितिमा संक्रमितलाई घर परिवार र समाजले समेत तृष्कारको भावले हेरेको देखिन्छ यस्तो अवस्थामा स्वास्थ्यकर्मीले सेवा नगरे कस्ले गर्छ’ उहाँले आफ्नो पेशा र जिम्मेवारीप्रति गर्भ महसुस गर्दै भन्नुभयो ।
आफ्नो ज्यान हत्केलामा राखेर गुरुङ र थापाजस्तै नर्सहरु कोभिडका विरामीको ज्यान जोगाउन अहोरात्र खटिरहेका छन् । न उहाँहरुलाई भोक प्यासको चिन्ता न त निद्राको । न घर परिवार न त आफन्त । मधु भन्दै हुनुहुन्थ्यो–‘युद्धमा निस्किएको सेनाको एउटै अर्जुन दृष्टि हुन्छ दुष्मनलाई कसरी पराजित गर्ने ? हो, अहिले त्यस्तै हाम्रो नि एउटै अर्जुन दृष्टि छ कसरी विरामीलाई कोरोनाबाट बचाउने ?