डा. केसीद्वारा पुनः अनशन स्थगित

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

जुम्ला १८, भदौ ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले सत्याग्रह स्थगत गर्नु भएको छ। केसीले प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन: सत्याग्रह स्थगित भएको जानकारी दिनुभएको छ ।

उहाँले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गर्नुभएको थियो। उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गर्नुभएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘कोराना महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छु। सरकारले आफूले राख्दै आएका माग पूरा नगरेको खण्डमा कुनै पनि बेलामा सत्याग्रह बस्ने जानकारी गर्दछु।’

उहाँले विज्ञप्तिमार्फत यस जोखिम अवधिमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण समेत गराउनु भएको छ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिनुभयो।

डा केसीले पछिल्लो समय राखेको मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन र सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन्।

यसैगरी शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन, सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्नेलगायतका रहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधारसहित डाक्टर पढाई हुनुपर्नेलगायतका माग राख्दै उहाँ सत्याग्रह बस्न गत साउन ११ गते जुम्ला पुग्नु थियो ।

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech