बाँकेमा लक्षण देखिएका विरामी थपिए कहाँ राख्ने ?

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७७, शुक्रबार

 

समिरमान श्रेष्ठ- नेपालगन्ज २३, साउन ।
प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पताल नेपालगन्जले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आइसोलेसन बनाएर कोरोना संक्रमितको उपचार गरिरहेको छ । विहीबार स्वास्थ्य पेजको टीम उक्त आइसोलेसनमा पुग्दा भेरी अस्पतालका फिजिसियन तथा कोरोना फोकल पर्सन डा. संकेत रिसाल नेतृत्वको टीम संक्रमित विरामीहरुको उपचारमा व्यस्त थिए ।

यहाँ अहिले २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ‘केही लक्षण देखिएका विरामी पनि हुनुहुन्छ डा. रिसालले भन्नुभयो–‘समग्रमा सबै विरामीहरुको अवस्था सामान्य जस्तै छ ।’ विरामीहरुलाई सहजै ‘मोटिभेट’ गर्न सक्ने क्षमता डा. रिसालसँग छ । उहाँलाई नजिकबाट चिन्नेहरु भन्छन् – ‘डा.संकेतको विशेषता भनेकै विरामीलाई छिटो ‘मोटिभेट’ गर्न सक्ने खुवी हो ।’

संक्रमितको उपचारमा खटिएका डाक्टर र नर्सिङ स्टाफ

संक्रमितको उपचारमा खटिएका डाक्टर र नर्सिङ स्टाफ

आइसोलेसनमा बस्दा संक्रमितहरुमा एक किसीमको मानसिक दवाव हुने गर्छ । त्यसैले उनीहरुको अगाडी डाक्टर, नर्सहरु उपस्थिति हुँदा हसमुख र खुलेको अनुहार हुनु उत्तिकै जरुरी देखिन्छ । मुस्कान सहितको सेवा डा. संकेतको अर्को ब्राण्ड पनि हो । डा. संकेतसँगै डा. चन्द्रप्रकाश शाह, दिपक गुप्ता, स्टाफ नर्सहरु ज्योती बस्याल, कामना थापामगर र आश्मा चौधरी आइसोलेसनका विरामीको सेवामा खटिनुभएको छ । ‘संक्रमितहरुलाई मनोसामाजिक परामर्श पनि दिने गरेका छौं, डा. रिसालले भन्नुभयो–‘त्यसका लागि हाम्रा स्टाफ नर्सहरु सक्षम छन् ।’ किनकी त्यहाँ खटिएका स्टाफ नर्सहरु १४ दिन त्यही बसेर कोरोना संक्रमितको उपचारमा आफुहरुलाई समाहित गरिरहेका छन् ।

डा. संकेत रिसाल, कोरोना फोकलपर्सन, भेरी अस्पताल नेपालगन्ज ।

डा. संकेत रिसाल, कोरोना फोकलपर्सन, भेरी अस्पताल नेपालगन्ज ।

भेरी अस्पताल मातहतको यो अस्पतालमा एमबिबिएस तहका चिकित्सक, फिजिसियनको नेतृत्वमा स्वास्थ्यकर्मी, नर्स र अन्य अस्पतालका कर्मचारी संक्रमितको उपचारमा खटिने गरेका छन् । अस्पतालले संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना अस्पतालमै बस्ने व्यवस्था गरेको छ । अस्पतालमा ३० बेडकोे आइसोलेसन वार्ड बनाएर कोरोना संक्रमितको उपचार गर्दै आइरहेको डा. रिसाल बताउँनुहुन्छ । ‘भेरी अस्पतालले संक्रमितको भर्ना गर्दैन, तर प्रदेश सरकारको निर्णय अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो–‘लेभल २ का रुपमा रहेको यो अस्पतालमा लक्षण देखिएका विरामीहरुको उपचार गर्ने गरिएको छ ।’ शल्यक्रिया गर्नुपर्ने लगायतका जटिल विरामीहरुको उपचार भने लेभल ३ का रुपमा रहेको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा हुने गरेको छ । यात्रा विवरण नभएकै र त्यसमा पनि लक्षण देखिएका संक्रमित बढ्न थालेपछि चुनौति थपिएको छ ।

संक्रमितको उपचारमा खटिएका नर्सिङ स्टाफ

संक्रमितको उपचारमा खटिएका नर्सिङ स्टाफ

सुविधा सम्पन्न भनिएको खजुरा आइसोलेसनमा ३० बेडमात्र भएका कारण त्योभन्दा बढी लक्षण देखिएका विरामी आए कहाँ राख्ने ? अहिलेसम्म सम्बद्ध सरोकारवालाहरुले ध्यान दिन सकेका छैनन् । बाँकेको अन्य आइसोलेसनमा यो अस्पतालजस्तो सुविधा छैन् । न्यूनतम मापदण्ड समेत नभएका त्यस्ता आइसोलेसनमा राखिएका विरामीलाई संक्रमणले च्याप्न थाले उनीहरुलाई तत्काल चाहिने अक्सिजन, भेन्टिलेटर, ल्याव, एक्स रे जस्ता सुविधाको अभाव छ । डा. रिसाल लक्षण देखिएका विरामी बढ्ने हो भने यही अवस्थामा उपचार गर्न समस्या हुने बताउँनुहुन्छ । समुदायस्तरमा जुन खालको संक्रमण बढ्दै गएको छ, त्यसले सुविधा सम्पन्न अस्पतालको तत्कालको खाँचो औल्याएको उहाँको भनाइ छ ।
(डा.संकेत रिसालसँगको भिडियो अन्तरवार्ता ‘स्वास्थ्य पेज’ फेसबुकमा अपलोड हुँदैछ)

 

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech