कोभिड १९ महामारीमा एम्बुलेन्स चालकको अनुभव–‘कैयौ दिन अनिद्रा र भोकभोकै वितेका छन् ।’

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

 

समिर/रिदम

नेपालगन्ज २५, कात्तिक ।
कर्ण वली बाँकेका एम्बुलेन्स चालक हुनुहुन्छ । चैत ११ गतेदेखि कोरोनाको संक्रमण नफैलियोस् भनेर सरकारले देशमा लकडाउन घोषणा गर्यो । अरू सबै घर बसेका बेला कर्णको व्यवस्ता भने झन् बढ्यो । गम्भीर अवस्थाका मात्र होइन र सामान्य बिरामीलाई अस्पताल लैजाने र अस्पतालबाट डिस्चार्ज गरिएकालाई घर पु¥याउने कामले उहाँलाई रातदिन फुर्सद भएन् ।

सरकारले लकडाउन घोषणा गरेपछि पनि उहाँले बर्दिया, दाङ, प्युठान, सुर्खेत, काठमाडौंलगायत ठाउँमा बिरामी बोक्नुभयो । कहिले यताका बिरामी काठमाडौं पु¥याउनुभयो त कहिले काठमाडौंका अस्पतालले डिस्चार्ज गरेका बिरामी बोकेर बाँके फर्किनुभयो । कोरोनाको संक्रमण हुनसक्ने डरले लकडाउन घोषणा हुनासाथ कतिपय एम्बुलेन्स चालक मोबाइल स्वीच अफ गरेर घर बसे ।

कर्ण घर बस्नुभएन बिरामीको उद्धारमा लागिरहनुभयो । १८ बर्ष नेपाली सेनामा जागिर खाएर अवकाश प्राप्त बाँके राप्तीसोनारी- १ का कर्णले एक वर्षदेखि न्यू भिजन अस्पताल नेपालगन्जको एम्बुलेन्स चलाउन सुरू गर्नुभएको हो । लामो समय नेपाली सेनामा जागिर खाएका उहाँले ड्राइभिङ सिक्नुभएको थियो । त्यसै घर बस्न मन लागेन ।

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

सुरु भयो एम्बुलेन्स चलाउने मानवीय सेवा । जिविकोपार्जनमा पनि टेवा पुग्ने र सेवा पनि हुने भएपछि उहाँले एम्बुलेन्स चलाउन सुरु गर्नुभयो । लकडाउन सुरू भएपछि भने उहाँलाई बिरामी बोकौं की नबोकौं भन्ने दोधार बनाएको पनि थियो । त्यसैमा कोरोना संक्रमितहरु फेला पर्न थाले । उहाँलाई एम्बुलेन्स चलाउ की छाडौं भयो भन्ने भयो ।

तर जिम्मेवारी लिएपछि आफ्नो दायित्व निभाउनु पर्छ भन्ने उहाँलाई महसुस भयो । सुरुमा उहाँले नरैनापुरमा फेला परेका कोरोना संक्रमितलाई खजुरा आइसोलेसनमा ल्याउनु पर्ने भयो । कोरोनाको त्रास थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उहाँले ती संक्रमितलाई नरैनापुरबाट खजुरा क्यान्सर अस्पताल पुर्याउनुभयो ।

‘सुरुमा हदै डर लाग्यो उहाँले भन्नुभयो–‘घरपरिवारलाई समेत भनिन् ।’ तीन हप्तासम्म उहाँ घरै जानु भएन् । पीसीआर गरेपछि रिपोर्ट नेगेटिभ आयो । घर जानु भयो । घरपरिवार सुरुमा रिसाए । कोरोनाको त्रासले डराए । पछि विस्तारै कन्भिन्स हुँदै गए । तर समाजको त्रास भने उहाँलाई अझै पनि छ । सुरु सुरुमा त घर पनि राती लुकेर जानु पथ्र्यो नत्र छिमेकीले उठिबास लगाइदिन्थे उहाँले ती दिन स्मरण गर्दै भन्नुभयो । कैयौ दिन रात भोकै बस्नु परेको अनुभव उहाँसँग छ ।

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्जबाट विरामी लिएर काठमाडौं जाने अनि केही नखाएर सिधै नेपालगन्ज फर्किनु परेको पीडा उहाँसँग छ । एम्बुलेन्सलाई कतै रोक्न दिदैन्थे । कोरोना नै लिएर आयो भन्ने सोचाई हुन्थ्यो उहाँको अनुभव छ । ‘अप्ठ्यारो अवस्थामा बिरामी बोकेर हिँड्न पाउँदा आनन्द लाग्थ्यो, तर खाना खानै पाइएन,’ उहाँले भन्नुभयोे–‘मजस्तै सबै एम्बुलेन्स चालकको पीडा एउटै थियो ।

घर छोडेर निस्किएपछि खाना खान पाइँदैन्थ्यो । कहीँकतै पसल खुलेको देखिए बिस्कुट र चाउचाउ किन्न जाँदा छैन भनेर फर्काइन्थ्यो ।’ अहिले त्यो परिस्थिति फेरिएको उहाँको अनुभव छ । त्यसरी आफ्नो ज्यानको बाजी लगाएर महामारीमा मानवीय सेवा गर्दापनि राज्यले नहेरेको उहाँको भनाइ छ । कोभिड भत्ता दिन्छु भनिसकेपछि सरकारले दिनु पर्ने हो । तर अहिलेसम्म उहाँले भत्ता पाउनु भएको छैन् । जस्का कारण उहाँको मन कुडिएको छ ।

सम्बन्धित समाचार