वसन्तकुमार उपाध्याय-

‘सत्याग्रह’ एक प्रतिकारमात्रै होइन, एक विशिष्ट जीवनपद्धति पनि हो।

मूल रुपमा अहिंसा, सत्य, अपरिग्रह, अस्तेय, निर्भयता, ब्राहृचर्य, सर्वधर्म समभाव आदि व्रतको कठोर माध्यम हो सत्याग्रह।

डा.गोविन्द के.सीको सत्याग्रहका विषयमा लेख्नुअघिय यो कुरा प्रष्ट पारौँ कि, मैले उनलाई कहिल्यै भेटेको छैन।

डा. गोविन्द के.सीको गृहजिल्ला रामेछाप भने पटक-पटक पुगेको छु।

म सहिद गंगालाल श्रेष्ठको योगदान पुस्तक र लेख पढेको पुस्तालई प्रतिनिधित्व गर्ने युवा हुँ। शोभा भगवतिमा उनको शालिकमात्रै देखेको छु।

अनि नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा स्व.पुष्पलाल श्रेष्ठको थातथलो भनेर रामेछापलाई चिनेको थिएँ। जो गरीव र सर्वहारा वर्गको उत्थानका लागि संघर्ष गरेका भनेर इतिहास लेखिएको छ।

भारतमा महात्मा गान्धी र अन्ना हजारेले ‘सत्याग्रही’ कै रुपमा पूरै भारतको प्रतिनिधित्व गरे। यतिबेला युगौं युगका लागि नेपाली सत्याग्रही भनेर चिनिने डा.गोविन्द के.सी अब रामेछापलाई मात्रै नभएर फरक धारबाट आम नागरिकलाई प्रतिनिधित्व गर्दैछन्।

उनी आमनेपाली नागरिकको प्रतिनिधित्व गर्छन् भन्ने भावनालाई कुनै ‘वाद’ले छेक्न वा धमिल्याउन सक्दैन। वाद र दलीय संगठनको छाँया पनि नपरोस् सत्याग्रहमा।

कारण एउटै हो, दलहरुले नागरिकलाई कार्यकर्ता बनाउँदै वादको ऋण बोकाएका छन्।

व्यवस्था परिवर्तन त भए तर नागरिकको जीवनमा सुधार आउन सकेको छैन।  डा.के.सीले उनका सिमित प्राकृतिक आवश्यकता बाहेक कुनै महत्वाकांक्षा राखेका छैनन्। चिकित्सा पेशामा उनलाई रोल मोडल मानेर ब्यवहारमा उनको जस्तो सादगी जीवनशैली अपनाउने एक जना पनि अर्को डाक्टर अहिलेको अवस्थामा त म देख्दिनँ।

तर पनि चिकित्सा क्षेत्रका विषयमा उनले उठाएको बुलन्द आवाजले सबैलाई छुन्छ। आग्रह वा पूर्वाग्रह फाईदा र घाटाका कारणले हुने उनिप्रतिको प्रहारलाई आम नागरिकले ढाल बनाएर देखाउन सक्नुपर्छ।

जन्मेको हुर्केको माटोले पक्कै अर्थ राख्छ।

प्रजातान्त्रिक समाजवादका प्रणेता विपी कोईरालाले भनेका थिए-‘निर्णय गर्न दुविधा भए एक मुट्ठी माटो लिएर निर्णय लिनु।’

जसको जीवनको लक्ष्य भनेकै विरामीको सेवा र जनताका छोराछोरीलाई सजिलोगरी डाक्टरी पढाउनु बाहेक अरु केही थिएन र छैन।

तर राज्यले लिएको स्वास्थ्य नीतिले आम नागिकलाई फाईदा हुन नसक्ने भन्दै नीतिगत तहमा नै सुधारका लागि उनले उठाएको आवाजको स्वरुप हो उनको भोक हड्ताल, आमरण अनसन।

शाब्दिक अर्थमा यो सत्याग्रह नै हो।

भोक हड्ताल र आमरण अनसनको कुरा गर्दा गोर्खाका अधिकारी दम्पति, टर्कीका मेरीयम अल्टर्, युक्रेनका स्टानिस्ल्भ एसेभ, चीनका चेन सुई वियान, भेनेजुयलाका फ्रयाकंलिन ब्रिटो, रोमानियाका इमिल क्याल्मानोभिक, भातरतका जितेन्द्रास,रोनाल्ड स्ट्रब्रुक, बंगलादेशका महमुदर रहमान, इरानका अकबर मोहमदीलाई सम्झनामा आउँछन्।

म यतिबेला डा. के.सीको जीवन सुरक्षित होस् भन्ने मात्रै होईन राज्यको सत्याग्रहीप्रतिको नजरिया बदलियोस् भन्ने चाहन्छु।

सरकार र सत्ता त बेला बेला बदलिइरहने विषय हो। तर सत्याग्रही एक युगमा एकजना भेटिन्छन, सरकारले हेक्का राखोस्।

सत्याग्रही डा. के.सीले डाक्टर बन्न जुन संघर्ष गर्नु परेको थियो। सायद त्यही कुराले होला यो पुस्ताका गरीव परिवारका सन्तान डाक्टर बन्न त्यस्तो ब्यहोर्नु नपरोस् भन्ने उनमा पलाएको सोंच नै सत्याग्रहको ठूलो उर्जा हो।

उनी अर्थात् डा.के.सीसँग मेरो कुनै साईनो छैन, उनी सत्याग्रहको समर्थक बाहेक।

लोकतन्त्रमा विश्वास गर्छु त्यसैले हिंसाप्रति मेरो झुकाव छैन।

हो, जिल्ला जिल्ला गरिवको उपचारमा जाने डा.के.सीको गृह जिल्लाको विकट गाउँ सैंपुमा भूकम्पपछि भत्किएको बर्थिङ्ग सेन्टर निर्माणका दौरान म रामेछाप बसेको थिएँ।

हो, उनी हुर्केको भुमि भएर पटक पटक फन्को मारेको छु।  उनै महान ब्यक्तित्व डा. के.सीको पहिलो अनसन २०६९, असार २१ देखि २४ सम्म चल्यो। त्यसयता उनी १९ पटकसम्म अनसन बसिरहेका छन्।

उनको यो अदम्य साहसका लागि भौतिक रुपमा उनलाई दिन मसँग केही पनि छैन, न त म केही दिने हैसियतको मान्छे हुँ। स्वयं उनलाई कुनै भौतिक वस्तु वा पदीय जिम्मेवारीको आशा नै छैन। मसँग छ त भने केवल नैतिक समर्थन मात्रै।

कतिपय सम्बन्ध साइनोविनाका हुन्छन, सम्बोधन विनाका पनि हु्छन्। कति कुराको विश्वासका लागि लिखित दस्तावेज जरुरी हुँदैन। हो, त्यही साइनो विनाको अलिखित विश्वासको दस्तावेज हुन सत्याग्रही डा. के.सी।

जो फरक फरक सरकारसँग लिखित दस्तावेजमा हस्ताक्षर गर्छन, बदलावको आशा राखेर।

संस्थापकलाई नै ‘गद्दार’ भनिएको यो समाजको मनोविज्ञानमा डा. गोविन्द के.सीलाई सत्ताको चस्मा पहिरिएर ‘पागल’ भनिदाँ नागरिक आन्दोलनको उचाइ कम हुनैसक्दैन।

रामेछापका स्व. पुष्पलाल श्रेष्ठ त्यस्तै एक पात्र थिए। जो कुनै बेला गद्दार घोषित भए। अहिले डा.के.सी पागल भनिए झैं। यदि यो पुस्ताले उनिप्रति सम्मान देखाउन सकेन भने यहाँ अर्को सत्याग्रही सायद फेरि जन्मने छैनन्।

डा. के.सी मात्रै होईन हामी सबै एक दिन मर्नु नै छ। यही अवस्थामा सत्याग्रही डा. के.सी. मरे भने सिंगो देशलाई पाप लाग्नेछ। बदलिने सत्ताधारीलाई डा. के.सी.को मृत्युको बाछिटाले कतै नछोओस्।

जो-जो सत्तामा पुगे ज–जस्ले उनीसँग सम्झौता गरेर बिर्सिए ति सबै सत्याग्रहीका ऋणी रहिरहनेछन्।

सम्बन्धित समाचार