कोभिडका विरामीको उपचारमा अहोरात्र खटिएका चिकित्सक भन्छन्–‘कोभिड महामारी स्वास्थ्य क्षेत्र सुधारको ठूलो अवसर पनि हो ।’

कोभिड पछिको व्यस्त दैनिकी

विहान ६ देखि ६ः३० बजेसम्मको बीचमा उठ्छु । त्यसपछि अस्पताल परिसरमा ७ बजेसम्म ब्याटमिन्टन खेल्छु । कहिलेकाही ब्याटमिन्टन खेल्नु अघि आईसीयूमा जानु पर्ने हुन्छ । त्यस्तो अवस्थामा ८ बजेसम्म पनि व्याटमिन्टन खेल्छु । त्यसपछि क्वाटर जान्छु फ्रेस हुन्छु । खाना खाएर साढे ९ बजे अस्पताल प्रवेश गर्छु । सुरुमा आईसीयू, त्यसपछि इर्मेजन्सी, प्रि आइसोलेसन र आइसोलेसनका विरामीहरुको राउण्ड लिन्छु । त्यसपछि कोभिड आइसोलेसनमा जान्छु । त्यहाँका विरामीको अवस्थाबारे जानकारी लिन्छु । सिप्यापमा राख्नु पर्ने छ की ? रेमडिसिभिर दिनु छ की ? प्लाज्मा नै दिनु पर्ने अवस्था पो छ की ? वा भेन्टिलेटरमै राख्नु पर्ने छ की ? स्टेशनबाट अवलोकन गर्छु । भित्रै जानु पर्ने अवस्था आए पीपीइ लगाएर जान्छु र कहिलेकाही घण्टौं समय त्यही विताउनु पर्ने अवस्था पनि आउँछ ।

त्यसपछि ओटीमा जान्छु । करिव दुई बजेसम्म ओटीमा बसेपछि फेरी कोभिड आइसोलेसन वार्डमा जान्छु । विरामीको अवस्थादेखि उपकरणको बारेमा समेत जानकारी लिन्छु । कहिलेकाही ती उपकरणहरु चलाउने तवरतरिकाबारे अन्य स्टाफहरुलाई जानकारी गराउनु पर्ने पनि हुन्छ । त्यती गर्दा तीनचार बज्छ । एकछिन रेष्ट गर्छु । हिंजोआज त रेष्ट गर्ने फूर्सद पनि छैन् । गम्भीर खालका विरामीको संख्या धेरै भएकाले अधिकांश समय अस्पताल भित्रै हुन्छु । ७-८ बजे क्वाटर पुग्छु । खाना खाएर फेरी ९-१० बजे अस्पताल आउछु । इर्मेजन्सी, आईसीयू र कोभिड आइसोलेसन वार्डमा जान्छु ।

केही समस्या भए त्यसको सम्वोधन गरेर क्वाटर फर्किन्छु । राती प्राय कल आइराखेको हुन्छ । कलबाट समस्या समाधान हुने भए त्यसैअनुसार सिकाउने गर्छु । नत्र आफै राती उठेर आउँछु । कोभिडका सिकिस्त विरामी धेरै छन् । उनीहरुका लागि आउनै पर्छ । अर्कोतर्फ नयाँ डाक्टर साव र नर्सहरु आउनु भएको छ । केही नयाँ मेसिनहरु पनि आएका छन् । उहाँहरुलाई सिकाउनु पर्ने हुन्छ । अधिकांश समय मेरो अस्पतालमै वित्ने गरेको छ ।

कोभिडका विरामीलाई अक्सिजन थेरापी

कोरोना भाइरस संक्रमितहरु कोही श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका हुन्छन् । कोहीमा भने रुघाखोकी, छातीको दुखाई लगायतका समस्या हुन्छ । हेर्दा ठिकठाक देखिन्छ । हिडडुल पनि गरकै हुन्छ । बोल्न पनि बोलिरहेकै हुन्छ । तर अक्सिजनको मात्रा घटिसकेको हुन्छ । यस्ता बिरामीमा अक्सिजनको मात्रा (स्याचुरेसन) ८० प्रतिशतभन्दा पनि कम भइसकेको हुन्छ । सामान्य अवस्थामा शरीरमा स्याचुरेसन ९५ देखि १०० प्रतिशत हुन्छ । स्याचुरेसन त्यो भन्दा कम भयो भने त्यस्ता व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने बुझिन्छ ।

कोभिड भएका व्यक्तिमा अक्सिजनको मात्रा घटिरहेको हुन्छ । अक्सिजन लगाउँदा पनि स्याचुरेसन बढिरहेको छैन र श्वासप्रश्वासको गति छिटो बढिरहेको छ भने यस्ता सिभियर लक्षण हुन् । कोभिडले गर्दा दुवैै फोक्सोमा निमोनिया भयो भने सिभियर कोभिडको लक्षण देखिन्छ । कोभिडको उपचारमा पनि हाई फ्लो अक्सिजन थेरापीमार्फत अक्सिजन दिने गरिन्छ । कोभिड–१९ को उपचारमा अक्सिजन थेरापी धेरै महत्वपूर्ण हुन्छ । अक्सिजन थेरापी दिने पनि २–३ वटा मोडालिटी छन् । माइल्ड अवस्थामा नाकबाट क्यानुला लगाएर अक्सिजन दिन सकिन्छ ।

यसको प्रयोगले अक्सिजनको स्याचुरेसन ९० प्रतिशतबाट बढाउन सकिएन भने फेस माक्सबाट अक्सिजन दिन थालिन्छ । यो विधिबाट पनि अक्सिजन सन्तुलिन राख्न सकिएन भने हाई–फ्लो अक्सिजन थेरापीमा जानुपर्ने हुन्छ । हाई फ्लो अक्सिजन थेरापीबाट प्रतिमिनेट ६० देखि ७० लिटरसम्म शतप्रतिशत अक्सिजन दिन सकिन्छ । अहिले आउने अधिकांश विरामी सिकिस्त हुनुहुन्छ । अहिलेपनि १२/१३ जनालाई अक्सिजन दिइरहेका छौं । चार जनालाई सिप्याप र हाई–फ्लो अक्सिजन दिइरहको छौ ।

समस्या र चुनौति

सबैभन्दा ठूलो चुनौति जनशक्ति हो । १० जना सिकिस्त विरामीलाई हेर्नका लागि १० जना नै नर्सिङ स्टाफ आवश्यक पर्छ । अहिले कोभिड वार्डमा ५० बढी विरामी छन् । एउटा सिफ्टमा पाँचजना नर्सिङ स्टाफले हेर्दै आउनुभएको छ । यो भनेको एउटा नर्सले १० जना विरामी हेर्नु पर्ने अवस्था छ । प्रदेश सरकारले ठूलो संख्यामा नर्सिङ स्टाफको भ्याकेन्सी खोल्यो । र, उहाँहरु नियुक्त भएर आउँदै हुनुहुन्छ । उहाँहरुलाई बस्ने ठाउँको अभाव देख्छु । चिकित्सकहरु आउनु भएको छ क्वाटरको अभाव छ ।

भत्ता दिएरमात्र हुने होइन् उनीहरुको मनोवल बढाउने र काममा सहजता ल्याउने कुरापनि महत्वपूर्ण हो । जनशक्ति पठाएरमात्र भएन त्यसको व्यवस्थापनलाई पनि ख्याल गरिनु पर्छ । नत्र त्यसको प्रभाव उपचारमा पर्छ । डिउटी गरेर बस्ने ठाउँ भएन भने काम गर्न कहाँ मन लाग्छ ? अर्को भनेको उपकरण अभाव हो । अहिले पनि १२/१३ जना विरामीलाई आईसीयूमै राख्नु पर्ने अवस्था छ । तर हामीसँग ८ वटा मात्र आइसीयू वेड छन् । आईसीयूमा राख्नु पर्ने विरामीलाई वार्डमा राखेका छौं । तर उनीहरुलाई आईसीयूकै बराबरले केयर गरेर उपचार गरिरहेका छौं । कोभिडमा २ वटा भेन्टिलेटरको मात्रै छन् । त्यो निकै कम हो । ननकोभिडको भेन्टिलेटर यहाँ प्रयोग गर्न मिल्दैन् । फेरी त्यही पनि भेन्टिलेटरमा राख्ने ननकोभिडका विरामी आइरहेका छन् ।

अहिलेपनि दुई तीन जना भेन्टिलेटरमा छन् । कोभिडका सिकिस्त विरामी राख्ने वार्ड नै फरक हुनु पर्छ । जस्लाई अक्सिजन दिएर भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । त्यस्ता विरामीबाट भाइरस धेरै निस्कन्छ । त्यसरी निस्केको भाइरसलाई बाहिर फिल्टर गरेर पठाउनु पर्छ । त्यस्तो संरचना हामीसँग छैन् । अर्को त्यही काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि कोभिडका विरामी भएको ठाउँलाई कम जोखिमयुक्त गराउनु पर्छ । कोभिडका गम्भीर विरामीबाट अन्यलाई संक्रमण नफैलियोस् भन्ने उद्देश्यले त्यही खालका संरचना बनाउनु पर्छ । त्यो अहिले नेपालका तीन ठाउँमा मात्र छ ।

महंगो छ तर कोभिडको लागि अत्यन्तै जरुरी पनि छ । कोभिड रोगै नयाँ भएकाले नयाँ–नयाँ उपकरणको प्रयोग भइरहेको छ । अहिले हामीसँग २ वटा ‘हाई फ्लो अक्सिजन नेजल क्यानुला’ छ । त्यो काठमाडौंको भेन्टिलेटर बैंकबाट आएको हो । गम्भीर विरामी आउनेहरुको संख्या प्रक्षेपण गर्दा अवको दुई तीन महिनामा कम्तिमा पनि २० देखि २५ वटा ‘हाई फ्लो अक्सिजन नेजल क्यानुला’ आवश्यक देखिन्छ । अर्को स्वास्थ्यकर्मीको सुरक्षाको लागि चाहिने सामाग्रीको पनि अभाव छ । विरामीको संख्या बढ्ने वित्तिकै पीपीईको अभाव हुन्छ । एकैदिन दुई तीन सय पीपीई सकिन्छ । गम्भीर खालका संक्रमित उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि भाइरसको जोखिम बढी हुन्छ । त्यसका लागि पुरै हेड छोप्ने हुट चाहिन्छ । त्यो लगाएर उपचार गर्दा स्वास्थ्यकर्मीलाई जोखिम कम हुन्छ । त्यसको पनि अभाव छ । हामीसँग अहिले दुईवटा हुट छ । त्यो पनि एउटा संस्थाबाट मागेर ल्याएको हो ।

स्वास्थ्य क्षेत्र सुधारको अवसर

कोरोना भाइरस महामारी कहिले सकिन्छ भन्ने टुंगो छैन् । अवको योजना दुई बर्षका लागि बनाउनु पर्छ झै लाग्छ । खजुरामा कोभिड विशेष अस्पताल हुँदा हामीले तीन महिनाको योजना बनाएर काम गर्यौं । त्यतिबेलै मलाई कम्तिमा ६ महिनाको योजना बनाएर अघि बढ्नु पर्छ भन्ने लागेको थियो । तर भएन् । भेरी अस्पतालबाटै अहिले कोभिड अस्पताल संचालनमा छ । कोभिड महामारीले स्वास्थ्य क्षेत्रमा सुधारको अवसर पनि दिएको छ । यहाँको स्वास्थ्य क्षेत्रको सुधारका लागि यो ठूलो अवसरका रुपमा लिनु पर्छ भन्ने मलाई लाग्छ ।

मेनपावरसहित ५० बेड क्षमताको आईसीयू वेड बनाउनु पर्छ । कोभिड सकिएला नसकिएला तर त्यसो गरियो भने त्यो सधैंका लागि हुन्छ । किनकी भेरी अस्पताल रेफरल अस्पताल पनि हो । जनशक्तिको परिचालन र व्यवस्थापनलाई पनि प्रभावकारी बनाइनु पर्छ । उपचारमा खटिनेहरुको स्वास्थ्यकर्मीहरुको सुरक्षा चुनौती दीर्घकालिनरुपमा समाधान गरिनु पर्छ । स्थायी संरचना निर्माण गरेर भाइरस विरुद्ध लड्ने दीर्घकालिन योजना बनाउनुको विकल्प छैन । योजनामात्र होइन त्यस्लाई कार्यान्वयन समेत गरियो भने यस्ता महामारीसँग जुध्न ठूलो सहजता मिल्ने छ ।

(भेरी अस्पताल नेपालगन्जका एनस्थेसियोलोजिष्ट डा पारश पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

 

सम्बन्धित समाचार