कर्णाली प्रदेशका एक्ला छाला रोग बिशेषज्ञ भन्छन्-‘छालामा आउने समस्यालाई नजर अन्दाज नगरौं’

नेपालगन्ज १३, असोज ।

१४ महिना देखि कर्णाली प्रदेशका छालाका विरामीहरुले बिशेषज्ञ सेवा लिइरहेका छन् । ‘छालाको समस्यालाई नजर अन्दाज नगरौं कर्णाली प्रदेशका एक्ला छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा प्रभातसिंह राजपुतले भन्नुभयो–‘छालाको हेल्चेक्राईले दीर्घकालिन समस्या निम्त्याउन सक्छ ।’ भौगोलिक विकटता, जनचेतनाको कमी र छाला सम्वन्धि समस्यालाई खासै प्राथमिकता नदिने गरेकाले छाला रोगको समस्या प्रदेशमा विकराल जस्तै छ । ‘संक्रमणको अवस्था गम्भीर चरणमा पुगेपछिमात्र विशेषज्ञ चिकित्सकसँग पुग्ने गरेको पाइन्छ स्वास्थ्य पेजसँगको कुराकानीमा डा राजपुतले भन्नुभयो–‘प्रादेशीक अस्पतालमा बिशेषज्ञ चिकित्सक नै आएका छन भन्ने थाहा पाएपछि अहिले विरामीको फ्लो केही बढेको छ । नत्र मेडिकलहरुबाटै औषधि लिएर प्रयोग गर्ने चलन थियो ।’ कर्णाली प्रदेशमा छाला रोगको समस्या, छालामा आउन सक्ने समस्या र समाधानका उपायबारे प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा प्रभातसिंह राजपुतसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले कुराकानी गर्नुभएको छ ।

-कर्णाली प्रदेशमा छालाका कस्ता प्रकारका समस्या लिएर विरामीहरु अस्पताल आउने गर्नुभएको छ ?
प्रादेशीक अस्पताल सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाका विरामीहरु आउने गर्छन् । यहाँ आउने अधिकांश विरामी भनेका दादका हुन् । एलर्जीले हुने दादका ६० प्रतिशत विरामी अस्पताल आउने गरेका छन् । दादबाट उत्पन्न हुने अरु थप समस्या पनि छन् । छालाको समस्या दुर्गम र तराईका क्षेत्रमा थोरै फरक हुने गरेको छ । यहाँ लुतोको समस्या पनि बढी छ । सरसफाईको कमीका कारण खासगरी कुपोषित बालबालिकालाई इन्फेक्सनहरु बढी हुने गरेको पाइएको छ । चाया, पोतो, डन्डिफोर, मुसा, जनै खटिरा, ठेउलासँगै मौसमी समस्या लिएर पनि विरामीहरु आउने गरेका छन् ।

-यी समस्या कुन उमेर समुहका लागि बढी देखिएको छ ?
एलर्जीका कारण हुने दादको समस्या सबै उमेर समुहलाई देखिएको छ । जस्तैः खेल्ने उमेर समूहका बालबालिका र युवाहरुमा फंगल इन्फेक्सन बढी देखिएको छ । ज्येष्ठ नागरिकलाई छालामा जनै खटिरा बढी समस्याका रुपमा देखिने गरेको छ । ग्रामीण क्षेत्र र त्यसमा पनि सरसफाईको कमी भएको क्षेत्रका बालबालिकालाई मुखको वरीपरी घाउहरु आउने समस्या देखिने गरेको छ ।

-मान्छेले छालामा आउने समस्यालाई खासै प्राथमिकता दिएको पाइदैन् । समस्या अलि बढी देखियो भने मात्र चिकित्सकम्म पुग्ने गरेको पाइन्छ । तपाई कर्णाली प्रदेशको एक्लो छाला रोग बिशेषज्ञ हुनुहुन्छ । यहाँको अवस्था के छ ?
यहाँले सहि प्रश्न गर्नुभयो । छालाको समस्यालाई मानिसहरु खासै प्राथमिकता दिइएको पाइदैन् । दादहरु भयो भने पनि नजिकैको मेडिकलबाट औषधि लिने र प्रयोग गर्ने गरेको पाइन्छ । एलर्जी हुने समस्यालाई पनि दाद र इन्फेक्सनले हुने समस्यालाई पनि दाद भनेर बुझिएको छ । तर मेडिकलमा बस्नेहरुले त्यस्लाई एउटैरुपमा बुझेर मिसिएको औषधि दिनुहुन्छ ।

पैसा जस्तै देखिने एउटा साधारण दाद हुन्छ । यदी त्यस्तो दाद देखियो भने त्यही अवस्थामा विशेषज्ञ डाक्टरसँग चेकजाँच गराउनु भयो भने एउटा क्रिमले ठिक भइहाल्छ । तर मेडिकलमा गएर मिसिएको औषधि प्रयोग गर्नुभयो भने त्यो झन फैलिएर ठूलो बन्छ ।

त्यस्तो अवस्थामा दाद ठिक हुनुको साटो झन बल्झिने समस्या हुन्छ । विशेषज्ञ चिकित्सकसँग चेकजाँच नगरी यसरी औषधि प्रयोग गर्दा त्यसले छालालाई झन ठूलो असर पार्ने गरेको छ । सुरुमा मेडिकलबाट औषधि लगेर प्रयोग गर्ने र ठिक नभएर जटिल अवस्थामा पुगीसकेपछि मात्र विशेषज्ञ चिकित्सकसम्म पुग्नेको संख्या यहाँ धेरै छ । जनचेतनाको कमीका कारण छाला रोगको संक्रमण यहाँ बढी देखिन्छ । सरसफाईलाई थोरै भएपनि ध्यान दिने हो भने छालामा आउने सामान्य इन्फेक्सनबाट जोगिन सकिन्छ ।

-त्यसो भए विशेषज्ञ चिकित्सकलाई नै समस्या देखाउनु पर्छ भन्ने जनचेतना विरामीहरुलाई छैन् ?
विशेषज्ञ चिकित्सक यसअघि यहाँ आउनु नै भएको थिएन् । स्वास्थ्यकर्मीहरुले नै औषधि उपचार गरिरहनुभएको थियो । फिजिसियन, स्त्रीरोग बिशेषज्ञहरुले समेत उपचार गर्ने गरेको पाइन्थ्यो । फेरि त्यसको विकल्प पनि थिएन् । म प्रादेशीक अस्पतालमा आइसके पछि अहिले छाला सम्वन्धि समस्या लिएर दैनिक १५ देखि ३५ जना विरामी आइरहनुभएको छ । यो हिसावले हेर्दा मानिसहरुमा क्रमशः छाला सम्वन्धि समस्या आयो भने छाला रोग बिशेषज्ञलाई नै देखाउ भन्ने जनचेतना बढेको देखिन्छ । प्रादेशीक अस्पतालमा आएर ठिक भएका विरामीले गाउँघरमा समेत बिशेषज्ञ चिकित्सकलाई नै देखाउनु पर्छ भनेर भन्दा रहेछन् । त्यसरी पनि जनचेतनामा बृद्धि भइरहेको छ ।

-छालाका विरामीहरुले समयमा सहि उपचार पाउन सकेनन् भने त्यसको दीर्घकालिन असर के हुन्छ ?
पैसा जस्तै देखिने एउटा साधारण दाद हुन्छ । यदी त्यस्तो दाद देखियो भने त्यही अवस्थामा विशेषज्ञ डाक्टरसँग चेकजाँच गराउनु भयो भने एउटा क्रिमले ठिक भइहाल्छ । तर मेडिकलमा गएर मिसिएको औषधि प्रयोग गर्नुभयो भने त्यो झन फैलिएर ठूलो बन्छ । त्यस्तो अवस्थामा उपचार गर्नुपर्यो भने औषधिपनि महंगो लाग्ने भयो र ठिक हुन पनि लामो समय लाग्ने हुन्छ । दुख पाउने समस्या त छदैछ ।

चेकजाँच नगरेर जथाभावी क्रिमको प्रयोग गर्दा त्यसले अल्पकालिन त ठिकै होला तर दीर्घकालिनरुपमा अनुहारको सौन्दर्यपनलाई झन बिगारीरहेको देखिन्छ । चिकित्सकलाई नसोधेर अनुहारमा प्रयोग गर्न सकिने निकै थोरै औषधि छन् ।

अझ अर्को त, त्यतीबेलासम्म दादको समस्या उहाँको घरपरिवारका सबैलाई भइसकेको हुन्छ । दाद त सरुवा रोग हो । दुई सय रुपैयाँले ठिक हुने संक्रमण निको पार्न दुईहजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था हुन्छ । अझ परिवारमा पनि सबैलाई संक्रमण फैलियो भने खर्च झन बढ्छ । त्यसैले समयमै उपचार गर्नु नै बुद्धिमता हो ।

-तपाई सौन्दर्य विशेषज्ञ पनि हुनुहुन्छ, बिशेषगरी महिलाहरुले सौन्दर्यका लागि अनुहारमा विभिन्न किसीमका क्रिमहरु लगाउने गर्नुहुन्छ यो कति राम्रो हो ?
सबैको आँखा सुरुमा अनुहारमै पर्ने गर्छ । अनुहारलाई चिटिक्क पार्न सबैलाई रहर लाग्छ । तर चिटिक्क पार्ने नाममा जथाभावी क्रिम प्रयोग नगरौं । सुन्दर महिलाहरु आफै मेडिकल पुगेर डण्डीफोर, चाँयापोतोको क्रिम लिएर प्रयोग गर्ने गरेको देखिन्छ । विक्री गर्ने मान्छे डाक्टर पनि होइन् ।

साधारण सिएमए गरेका, फर्मासिस्ट र सौन्दर्य सम्वन्धि ज्ञान नभएका नै हुन् । उनीहरुले मिक्स खाले क्रिम दिने गरेका छन । यसले अनुहार चम्काएको जस्तो देखिन्छ । राम्रो देखिएपछि यसको नियमित प्रयोग गर्ने गरेको पाइन्छ । तर यसले दीर्घकालिनरुपमा छालालाई कुरुप बनाउँदै लगेको हुन्छ । अहिले अधिकांश महिलाहरु छालाको सौन्दर्य बढाउन के गर्न सकिन्छ भनेर आइराख्नुभएको हुन्छ । पहिले मेरो यती राम्रो फेस थियो भन्दै फेसबुकका तस्विरहरु देखाउनु हुन्छ ।

अहिले किन यस्तो समस्या भयो भनेर सोध्नुहुन्छ । भन्न खोजेको चेकजाँच नगरेर जथाभावी क्रिमको प्रयोग गर्दा त्यसले अल्पकालिन त ठिकै होला तर दीर्घकालिनरुपमा अनुहारको सौन्दर्यपनलाई झन बिगारीरहेको देखिन्छ । चिकित्सकलाई नसोधेर अनुहारमा प्रयोग गर्न सकिने निकै थोरै औषधि छन् । सन्सक्रिम र मोइस्टराइजर यी क्रिम चिकित्सकलाई नसोधेर लाउँदा पनि फरक पर्दैन । तर अरु क्रिमको प्रयोग गर्दा चिकित्सकसँग राय लिएकै राम्रो ।

नत्र जथाभावी क्रिमको प्रयोग गर्दा भएको सौन्दर्य गुम्ने खतरा बढी हुन्छ । ताकी भोली उपचार गरेर पनि उक्त सौन्दर्यलाई फर्काउन सकिदैन् । त्यसैले मेरो आग्रह छ, अनुहारमा जथाभावी क्रिमको प्रयोग गर्दै नगरौं ।

-अन्तमा, छालालाई स्वस्थ र सफा राख्नका लागि के गर्न जरुरी छ त ?
पहिलो कुरा त आफ्नो छालाको दैनिक अनुगमन गर्ने गरौं । कतिपय छालाका रोगहरु चिलाउने र पोल्ने खालका हुन्छन् कतिपय नहुन पनि सक्छन् । चिलाउने, दुःख्ने, पोल्ने समस्या नभएका रोगबारे थाहा नहुन सक्छ । त्यसैले मैले भनेको आफ्नो छालाको आफै अनुगमन गरौं । ऐनामा आफ्नो अनुहार र छाला नियमित हेर्ने गरौं । दाग छ की ? खटिरा छ की ? एकपटक हेर्ने बानी बसालौं । अर्को कुरा भनेको नियमित सरसफाई नै हो । सरसफाई गर्ने बानीको विकास गरौं । तराईमा बस्ने मानिसले दैनिक नुहाउन सक्छ ।

तर हाम्रो जस्तो चिसो हुने कर्णाली प्रदेशमा दैनिक नुहाउन सम्भव छैन् । हप्तामा कम्तिमा पनि दुईतीन पटक नुहाउने गरौं । कपडाहरु धोयर सफा कपडाहरु प्रयोग गरौं । भित्रि बस्त्रहरु पोलिस्टरको प्रयोग गर्दै नगरौं । त्यसको ठाउँमा कटनका कपडाहरु प्रयोग गरौं । तौलियाहरु सकेसम्म सिंगल प्रयोग गरौं । मोइस्टराइजरयुक्त सावुनको प्रयोग गरौं । जस्तो अनुहारको सवालमा चाही सन्सक्रिमको प्रयोग गरौं ।

भिडियो अन्तरवार्ता हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

सम्बन्धित समाचार