नेपालगन्जः अपांगता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन भन्ने नाराका साथ ३४ औं अन्तराष्ट्रिय अपांगता दिवसको उपलक्ष्यमा अपांगता, यौन प्रजनन स्वास्थ्य र लैंगीक हिंसा विरुद्ध नेपालगन्जमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
परिवार नियोजन संघ बाँकेको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र समाजसेवा संस्था नेपालको सहकार्यमा नेपालगन्जका दुई ठाउँमा सडक नाटक प्रदर्शन गरिएको संघका प्रवन्धक रश्मि श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ महेन्द्रनगर र वडा नं.२३ जंगली पुरुवामा नाटक देखाइएको हो ।
कलाकारहरुले घरेलु हिंसादेखि अपांगता भएका व्यक्तिहरुले झेल्नु परेका यौन प्रजननका समस्या, समाजले हेर्ने दृष्टिकोण लगायतका विषयलाई समेटेका थिए । र, त्यसमा देखिएका भ्रमहरुलाई चिर्ने प्रयास गरेका थिए ।







