काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पिता रामनारायण शाहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएका शाह लामो समयदेखि मधुमेहका बिरामी थिए र पछिल्लो समय पिसाब संक्रमणसम्बन्धी समस्याबाट पीडित थिए । अस्पतालका अनुसार उनलाई आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दाहसंस्कारमा मेयर बालेन्द्र शाह भावविह्वल देखिएका थिए ।

बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । ऊर्जा शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायतले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।








