कोहलपुरमा सुरु हुँदै छ ‘धुवाँ मुक्त गाउँ कार्यक्रम’

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०८२, शुक्रबार

कोहलपुरः नेदरल्याण्ड विकास नियोग एसएनभी नेपालले धुवाँ मुक्त गाउँ कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका वडा नं.१३ लाई धुवाँरहित गाउँ बनाउने भएको छ । ‘स्वस्थ जीवन, सफा आकाश, धुवाँ मुक्त गाउँ हाम्रो प्रयास’ भन्ने नाराका साथ धुवाँरहित गाउँ अभियान कार्यक्रमका लागि कोहलपुरमा प्रारम्भिक बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको उर्जा–परियोजना संयोजक सन्तोष कुमार आचार्यले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि, सम्वद्ध सरोकारवाला निकायलाई बोलाएर धुवाँरहित गाउँ बनाउने चरणदेखि, यसको कार्यान्वयन प्रक्रिया, आवश्यकता र महत्वबारे जानकारी गराउने काम गरिएको आचार्यले बताए । ‘घरभित्रको वायु प्रदूषणको कारण मानव स्वास्थ्यमा पर्ने असर नियन्त्रण गर्नका निमित्त धुवाँ मुक्त गाउँ अभियान अत्यन्तै प्रभावकारी र आवश्यक छ आचार्यले भने–‘त्यसका लागि हामीले विद्युतिय चुलोको प्रयोगलाई बढवा दिन खोजिरहेका छौं ।’

परियोजना अन्तर्गत लुम्विनी प्रदेशका बाँके र बर्दिया तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १४ हजार घरपरिवारलाई लक्षित गरिएको छ । बाँकेमा यो अभियानमा १५ सय घरधुरीलाई समेट्ने योजना बनाइएको छ । त्यसका निमित्त परियोजनाले चुलो खरिदमा करिव दुई हजार अनुदान दिने पनि आचार्यले बताए । ‘धुवाँमुक्त गाउँ अभियान’ एकको एकल प्रयासलेबाट मात्र सम्भव छैन आचार्यले भने–‘यो समग्रमा समुदाय र संस्थागत अभ्यासले खाना पकाउने ब्यवहार परिवर्तनबाट मात्र सम्भव रहन्छ ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विद्युतिय चुलोको प्रयोग स्वास्थ्य र वातावरणका लागि अन्त्यन्तै उपयोगीपूर्ण रहेको बताए । वैकल्पिक उर्जाका लागि विद्युतिय चुलोको प्रयोगतर्फ प्रेरित हुन उनले आग्रह पनि गरे । सरकारको नीति पनि वैकल्पिक उर्जालाई प्राथमिकता दिने खालको भएकाले यसमा स्थानीय सरकारको सहयोग र साथ हुने उल्लेख गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपालको जैविक इन्धनमा खाना पकाउने परिपाटी छ । जसका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम त छँदैछ त्यसले वनजंगल विनाशलाई समेत प्रश्य दिएको अभियान्ताहरु बताउँछन् । यो कार्यक्रमको उद्देश्य स्वास्थ्यमा सुधार, दाउराको प्रयोग घटाउने, विद्युत खपत बढाउने, विद्युतिय सुरक्षाबारे सचेतना फैलाउने पनि भएको संयोजक आचार्यले बताए ।

  • २८ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech