नेपालगन्जः सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।
संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
२०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर एवं मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।
चुनावपछि आएको ओली सरकारले त्यसलाई खारेज गर्यो, जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि भत्ता पाएका थिएनन् ।
स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारको निर्णयविरुद्ध सडक आन्दोलन समेत गरेको थियो । अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले यसलाई फेरि अघि बढाउनुभएको हो ।