डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन  

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८२, बुधबार

नेपालगन्ज: बाँकेको डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्र्तगत पाँच शैय्याको आधारभुत अस्पतालको आज बुधबारदेखि सेवा प्रारम्भ गरेको छ ।

मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४ सै घण्टा सेवा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताए । उनका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेशी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, तथा औषधी वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताए । पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज एक कार्यक्रमका विच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सिमित साधन स्रोतबाट आधारभुत अस्पतालबाट २४सै घण्टा सेवा शुरु गरेको बताए ।

उनले आगामी दिनमा अस्पतालमा थप बेड र सेवाको स्तरउन्नती बृद्धि गरी उच्चस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । अध्यक्ष चौधरीले गाउँमै अस्पताल भएपछि यहाँका विरामी नेपालगन्ज सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको र निःशुल्क तथा सहुलियतमा सेवा प्रदान गर्नले स्थानीयलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । पालिकाले जनस्वास्थ्य अधिकृत हेमन्तकिशोर शर्मालाई अस्पतालको व्यवस्थापन गर्न जिम्मा दिइएको छ । पालिकाले स्वास्थ्य केन्द्रको परिसरमा नयाँ भवन निमार्ण गरि अस्पताल संचालनमा ल्याएको छ ।

स्वास्थ्य अधिकृत विरेन्द्र घलेले संचालन गरेको शुभारम्भ कार्यक्रममा स्वास्थ्य अधिकृत भिमबहादुर विकले स्वागत गरे ।
डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ ।

अहिले पालिकाका चार वटा स्थानमा निशुल्क प्रयोगशाला, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष चौधरीले बताए ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech