स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील छ : मन्त्री साह

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८२, बुधबार

काठमाडौं: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा उनले बीमा कार्यक्रममार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । ‘सेवाग्राही र सेवा प्रदायकका तर्फबाट बीमा कार्यक्रममा सम्बन्धमा गुनासो आइरहेका छन्, यसलाई समाधान गरेर अघि बढ्नुपर्छ’, उनले भने ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र समयमै दाबी फरफारक गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताए ।

एक दशकमा देशको करिब एकतिहाई जनसङ्ख्यामा बीमा कार्यक्रम पुगेको छ । बीमा प्रिमियम तिर्ने करिब ९३ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ । प्रतिपरिवार पाँच जना सदस्यका लागि प्रति वर्ष तीन हजार ५०० योगदान रकममा आधारमा रु एक लाखसम्मको उपचार सुविधा उपलब्ध छ ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech