दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठनका लागि कोटा निर्धारण

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८२, बुधबार

धनगढी – कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट औपचारिक पठनपाठन सुरु हुने भएको छ ।

बुधबार विश्वविद्यालयको सभाले विभिन्न संकायमा अध्यापन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछन् । बैठकले विद्यार्थी भर्ना कोटामा ५० जना एमबिबिएस, ३० जना बीएसी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्री तय गरेको छ ।

विश्वविद्यालयमा तीन सय शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि तयारी पनि अघि बढाइएको छ । सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि चिकित्सकहरूको तलब बापत ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ । आगामी वर्षका लागि थप २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

यसअघि विश्वविद्यालयका तीन बैठक काठमाडौंमा बसेका थिए भने बुधबारको बैठक पहिलो पटक विश्वविद्यालयकै गेटामै सम्पन्न भएको थियो ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech