काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्य वृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँ रुपैयाँको आर्थिक भार खेप्नुपरेको भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।
संसद बैठकमा बोल्दै उनले औषधि व्यवस्था विभागका महानिर्देशकले अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्रान्डका औषधिको मूल्य बढाएको तथ्य महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पुष्टि गरेको बताएका छन् ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १९० ब्रान्डमध्ये ८८ वटामा करिब ३४% सम्म मूल्यवृद्धि गरिएको र केही औषधिको मूल्य सम्बन्धित देशले तोकेको दरभन्दा पनि बढी राखिएको उल्लेख गरिएको छ ।
औषधि ऐन, २०३५ अनुसार औषधिको मूल्य निर्धारण प्रक्रिया स्पष्ट भए पनि त्यसलाई मिचेर मनोमानी रूपमा मूल्य बढाइएको उनको आरोप छ । सांसद खत्रीले चार वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि अनुसन्धानमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् ।
उनका अनुसार पछिल्लो आठ वर्षमा हजारौँ औषधिको मूल्यवृद्धि र खपत जोड्दा यो ‘अर्बौँको घोटाला’ हुन सक्ने दाबी छ । साथै महँगो औषधिका कारण मध्यम वर्ग गरिब बन्दै गएको र गरिब नागरिक उपचारबाट वञ्चित भइरहेको उनको भनाइ छ ।
उनले सभामुखमार्फत सम्बन्धित निकायलाई औषधिको नाममा भइरहेको अनियमितता तुरुन्त रोक्न र दोषीलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।








